पहिरोमा हराएका एन्फा एकेडेमीका ६ छात्रको मृत्यु
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडानम्बरं–३ स्थित वल्सलादेवी माविमा अध्ययनरत एन्फा एकेडेमीका ४० बालक मध्य ६ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ । अन्य ३४ बालक शकुशल रहेका छन् ।
कुलेखानी जलबिद्युत आयोजनाको इन्द्र सरोवर भरिएर शनिबार विहान जलाशयको २ वटै ढोका खोलीएपछि बिद्यालयको छात्रावासबाट सुरक्षित स्थलतर्फ सार्न खोज्दा उनीहरुको पहिरोमा पु्रिएर मृत्यु भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालले बताउनुभयो ।
मृत्युहुनेमा मकवानपुरका अनुप घलान, विवस बाँनिया, आदित्य बलम्पाकी, सर्लाहीका प्रियांक आचार्य, बाराका विकल रेग्मी र काठमाडौंका साइमन योन्जन रहेका छन् । मृतक घलान जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानका छोरा हुन् ।
मृतक सबैको शव पोस्टमार्टमका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सीताराम रिजालले बताउनुभयो । सकुशल रहेका अन्य बिद्यार्थीहरुलाई पनि सेनाको हेलिकोप्टर मार्फत काठमाडौ पठाइएको उहाँले बताउनुभयो ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं–३ स्थित वल्सलादेवी माविमा सञ्चालित एन्फा एकेडेमीमा अध्ययनसँगै ४० बालक बन्द प्रशिक्षणमा रहेका थिए ।
अन्डर १३ समूहका ४० जना बालकलाई अखिल नेपाल फुटबल संघ एन्फाले गत जेठ महिनादेखि सिस्नेरीस्थित बत्सलादेबी माबीको छात्राबासमा बन्द प्रशिक्षणमा राखेको थियो ।
यसैगरी, बागमती गाउँपालिका वडा नम्बर ३ सुख्खा सल्लेनीमा पहिरोले घर बगाई घरले थिचेर २० वर्षकी फूलमाया थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।