लोकतान्त्रिक गणतन्त्रका उपलब्धि संस्थागत गर्नु संविधानको मार्गदर्शनः बागमती प्रदेश प्रमुख

छहारी संवाददाता
अशोज ३, २०८१

बागमती प्रदेशका प्रमुख दिपकप्रसाद देवकोटाले लोकतान्त्रिक गणतन्त्रका उपलब्धिलाई संस्थागत गर्नु संविधानको मार्गदर्शन भएको बताउनुभएको छ ।

बिहिबार संविधान दिवस २०८१ को अवसरमा प्रदेश सरकारले हेटौंडामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले संविधानको मर्म र भावनालाई अक्षरसः पालना गरेमा देश समृद्धिको बाटोमा द्रुतगतिमा अघि बढ्ने बताउनुभयो । उहाँले अहिलेको संविधान जनताको प्रत्येक्ष संलग्नतामा जारी भएकोले विभिन्न समयमा जारी भएका संविधान भन्दा पृथक पहिचान बोकेको बताउनुभयो ।

प्रदेश प्रमुख देवकोटाले संविधानले निर्दिष्ट गरेका पक्षहरुलाई कार्यान्वयन गर्दै जाँदा सकारात्मक परिणाम आउने उल्लेख गर्दै कार्यान्वयनको इमान्दारीतामा सबै पक्षले उचित पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने दायित्व प्रदेश सरकारको काँधमा आएको बताउनुभयो ।

संविधानले संघ, प्रदेश र स्थानिय सरकारलाई जिम्मेवारीहरु दिएको उल्लेख गर्दै उहाँले त्यो जिम्मेवारी बहान गरी राष्ट्रको समृद्धि हासिल गर्न निर्धारित लक्ष्य प्राप्तीको दिशामा अघि बढ्नु अहिलेको मुल दायित्व रहेको बताउनुभयो ।

मुख्यमन्त्री लामालले नेपालको संविधान जारी भएपश्चात स्थापना भएको बागमती प्रदेशले शुन्य अवस्थाबाट आँफैले कानुन निर्माण गरी जनतालाई सेवा दिँदै आइरहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले नेपाली जनताले पाउन नसकेका संविधान प्रदत्त अधिकारहरु छिटो प्रदान गर्न तिनै तहको सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । संविधानका विरुद्धमा सल्बलाउनेहरुको संख्या दिनप्रतिदिन बढीरहेको भन्दै उहाँले संविधान निर्माताहरु सबैले सचेत हुनुपर्ने बताउनुभयो । प्रथम मुख्यमन्त्री पौडेलले यो संविधानको संरक्षण गर्नु सबैको जिम्मेवारी रहेको बताउनुभयो ।

कार्यक्रममा संविधान दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रममा उत्कृष्ट भएकाहरुलाई पुरस्कृत गरिएको थियो । त्यसअघि सांस्कृतिक झाँकीसहित भुटनदेवी माविबाट निस्किएको प्रभातफेरी बुद्धचोक–चौकिटोल–मानसचोक हुँदै मुख्यमन्त्री कार्यालयमा पुगेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*