हेटौंडा १५ रातोमाटेबाट भन्सार छली ल्याएको १ करोड ३५ लाख मुल्यको कपडा बरामद
मकवानपुर प्रहरीले हेटौंडाबाट १ करोड ३५ लाख मुल्यको अवैध लत्ताकपडा बरामद गरेको छ ।
भन्सार छली ल्याएको १ करोड ३५ लाख मुल्यको अवैध लत्ताकपडा सहित २ जनालाई हेटौंडा १५ रातोमाटे चेकपोष्टबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सुनसरीबाट हेटौंडा हुँदै काठमाडौं जान लागेको बि आर ०५ जि डि १३४३ नम्बरको भारतिय ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा परिमाणको लत्ताकपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सिताराम रिजालले जानकारी दिनुभयो ।
ट्रकमा खानतलासी गर्दा ३ सय ४५ बोरा आलुको भन्सार बिल काटेर प्रति बोरा ५० किलोको दरले २ सय ६४ बोरा आलु राखी त्यसको भित्री भागमा लुकाए ७४ बोरा विभिन्न खाले लत्ताकपडाहरु ल्याएको पाईएको उहाँले बताउनुभयो ।
अवैध कारोबारमा संलग्न रहेको भन्दै प्रहरीले ट्रकका चालक भारतको बिहार राज्यको मोतिहारी जिल्ला पुर्वी चम्पारण सपही बस्ने ३० वर्षका जन्दार आलम र सहचालक भारतको बिहार राज्यको मोतिहारी जिल्ला पुर्वी चम्पारण बन्जरिया चौलाहा कलोनी बस्ने १९ वर्षका मुना मियालाई नियन्त्रणमा लिएको छ ।