विपद्को सूचना प्रवाह गरी जोखिम कम गर्न स्याटेलाइट प्रविधि महत्वपूर्णः मुख्यमन्त्री लामा

छहारी संवाददाता
भदौ २७, २०८१

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले विपद्को सूचना प्रवाह गरी जोखिम कम गर्न भू–उपग्रह (स्याटेलाइट) प्रविधि महत्वपूर्ण हुने बताउनु भएको छ ।

बिहिबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको आयोजानामा विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग सम्बन्धि छलफल कार्यक्रममा मुख्यमन्त्री लामाले प्रदेशका जिल्लाहरुमा विपद्को पूर्वानुमानका लागि स्याटेलाइट प्रविधि महत्वपूर्ण हुने आफुले महसुस गरेको बताउनुभयो ।

उहाँले बागमती प्रदेशका १० जिल्ला विपद्को उच्च जोखिममा रहेकाले स्याटलाइट प्रविधि मार्फत् जोखिमपूर्ण स्थानको पहिचान गरी जोखिम न्यूनीकरणका लागि पूर्व तयारी गर्न सकिने भएकाले प्रदेश सरकारले चासो लिएर छलफल चलाएको बताउनुभयो । मुख्यमन्त्री लामाले नेपालमा विपद्का घटना धेरै हुने भएकाले संघ, प्रदेश र स्थनिय तीनै तहको सरकारले यो प्रविधीको विषयमा चासो राख्नु पर्ने बतउनुभयो ।

 

छलफलमा आन्तरिक मामिला मन्त्री सुरजचन्द्र लामिछानेले जोखिमलाई मध्यनजर गर्दै सूचना प्रवाह गर्न सकिने भएकाले स्याटेलाइट प्रविधि उपयुक्त रहेका बताउनुभयो । उहाँले विपद् व्यवस्थापन अधिकार तीनै तहको भएकोले यस विषयमा संघीय सरकार अन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसंग छलफल पछि प्रदेश सरकार अघि बढ्ने बताउनुभयो ।

स्ट्रीक्स नामक भू–उपग्रह (स्याटेलाइट) मार्फत जुनसुकै ठाउँमा हुने प्रकोपको डाटा पाउन र विश्लेषण गर्न सकिने एरो स्पेस एक्स प्लोरेशन एजेन्सीको प्रतिनिधि संस्था सिन्स्पेक्टिभका महाप्रबन्धक भीन्सेन्ट केस्लरले बताउनुभयो । उहाँका अनुसार, स्याटेलाइटको प्रयोगबाट भूकम्प बाहेक बाढी, पहिरो, हिमताल विस्फोटको सम्भावना जस्ता विपद्का घटनाका बारेमा पूर्व जानकारी सम्बन्धित निकायलाई दिन सकिनेछ ।

 

जमिनमा आइरहने परिवर्तन, संरचनात्मक कमजोरी वा सम्भावित विफलताहरूको बारेमा तस्विर मार्फत् प्रारम्भिक डाटा पत्ता लगाउन सकिने केस्लरले दाबी गर्नुभयो । भू–उपग्रह जडानका विषयमा बागमती प्रदेश सरकारसँग एमओयू गरेर जान इच्छुक रहेको कम्पनीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*