बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा गंगादत्त नेपाल नियुक्त

छहारी संवाददाता
भदौ २६, २०८१

बागमती प्रदेश सरकारकाले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गंगादत्त नेपाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको उपाध्यक्षमा पदमा सिन्धुपाल्चोकका नेपाललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा योजना मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।

बैठकपछि संचारकर्मीहरुलाई जानकारी दिँदै प्रवक्ता लामिछानले आयोगको सदस्यमा काभ्रेका गुणराज मोक्तान र काठमाडौंका दीपेन्द्र श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनुभयो । श्रेष्ठ यसअघि पनि आयोगका सदस्य हुनुहुन्थ्यो ।

यस्तै समाजिक विकास मन्त्रालयको प्रस्ताव र खेलकुद मन्त्रालयको स्वीकृतीमा प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिवमा नुवाकोटका दीपक लामालाई नियुक्त गर्ने निर्णय भएको प्रवक्ता लामिछानेले जानकारी दिनुभयो ।

बैठकले श्रम रोजगार तथा यातायात र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको कर्मचारी दरबन्दी स्वीकृत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको स्वीकृति नहुँदा अघिल्लो बैठकमा यो एजेन्डा रोकिएको थियो ।

यस्तै बुधबारको मन्त्रिपरिषद्को बैठकले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको संघीय इकाईको कार्यालयका लागि प्रदेश सरकारले विनियोजन गरेको बजेट खर्चलाई पनि स्वीकृती प्रदान गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*