देशमा रोजगारी सिर्जना गर्न उद्योगलाई प्राथमिकता दिनुपर्छः बागमती प्रदेशका मुख्यमन्त्री लामा

छहारी संवाददाता
भदौ २६, २०८१

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले देशमा रोजगारी सिर्जना गर्न उद्योगलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ ।

बुधबार मकवानपुर उद्योग वाणिज्य संघले हेटौंडामा आयोजना गरेको बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुको स्वागत, सम्मान तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रोजगारीको प्रमुख माध्यम नै उद्योगधन्दा रहेको बताउनुभयो । उद्योगका समस्याहरु धेरै रहेको भन्दै मुख्यमन्त्री लामाले जबसम्म उद्योगधन्दा फस्टाउँदैन तबसम्म रोजगारीको कल्पना गर्नु बेकारको कुरा हुने जिकिर गर्नुभयो ।

लगानीकर्ताले सुरक्षित महसुस नगरेसम्म उद्योग खोल्न नसक्ने भन्दै मुख्यमन्त्री लामाले उद्योगीहरुलाई व्यवसायीक सुरक्षा दिनु सरकारको जिम्मेवारी रहेको बताउनुभयो । उहाँले उद्योगी व्यवसायीहरुलाई करको दायरामा ल्याउनु पनि सरकारको दायित्व रहेको भन्दै प्रदेश सरकारले कर छुटसहित लगानी सुरक्षाको ग्यारेन्टी गरी उद्योगी व्यवसायीको समस्या समाधानमा सहकार्य गर्ने बताउनुभयो ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका आन्तरीक मामिला तथा कानुनमन्त्री सुरज चन्द्र लामिछाने, वन तथा वातावरणमन्त्री कृष्ण प्रसाद सिलवाल, खानेपानी, उर्जा तथा सिंचाईमन्त्री श्याम बशादुर खड्का, स्वास्थ्यमन्त्री किरण थापामगर, श्रम, रोजगार तथा यातायातमन्त्री प्रमभक्त महर्जन, युवा तथा खेलकुदमन्त्री मनिकृष्ण महर्जन, उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङ, विना विभागीयमन्त्री मदु कुमार श्रेष्ठको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष उज्वल चौलागाई, मकवानपुर उद्योग वाणिज्य संघ महिला समिती सभापति अंकिता सुमार्गी लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*