यातायात व्यवसायीको समस्या समाधान गर्न प्रदेश सरकार गम्भिर छः मुख्यमन्त्री लामा

छहारी संवाददाता
भदौ १७, २०८१

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले यातायात व्यवसायीको समस्या समाधान गर्न प्रदेश सरकार गम्भिर रहेको बताउनु भएको छ ।

बिहीबार नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ बागमती प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले यातायात व्यवसायीको समस्या पहिचान गरी दीर्घकालिन समाधानमा प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो ।

मुख्यमन्त्री लामाले पछिल्लो समय सवारी दुर्घटना बढीरहेको प्रति चिन्ता व्यक्त गर्दै यसको न्यूनीकरणका लागि राज्य पक्ष, यातायात व्यवसायी एकताबद्ध भएर जानुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले  प्रदेश सरकारको प्रमुख आम्दानीको श्रोत यातायात क्षेत्र भएको भन्दै करप्रणालीलाई सुधार गर्दै व्यवस्थित बनाउन प्रदेश सरकार गम्भिर भएर लागेको दाबी गर्नुभयो ।

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले सार्वजनिक सवारी साधनको हकमा एकमुष्ट कर प्रणाली लागु गर्नुपर्ने बताउनुभयो । एक मुष्ट कर प्रणालीमा समेट्न नसके यातायात क्षेत्रमा सुधार गर्न नसक्ने उहाँको धारणा थियो ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शुरजचन्द्र लामिछानेले यातायात क्षेत्रमा देखिएका कानुनी जटिलता समाधानका लागी यातायात व्यसायीको सुझावलाई ममन गर्दै नीतिगत पहल गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँले सवारी दुर्घटनामा मृत्यु भएका परिवारले पाउने क्षतिपूर्ति बापतको ५ लाख रुपैयाँ कम भएको भन्दै यसमा प्रदेश सरकारको गम्भिर ध्यानाकर्षण भएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*