बागमती प्रदेशले यसवर्ष पनि लम्पी स्किन रोग विरुद्ध सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्दै

शुक्रबार मकवानपुरगढी स्थित कृषि फार्मका गाईलाई खोप लगाएर अभियानको औपचारिक सुरुवात गर्ने
छहारी संवाददाता
साउन २४, २०८१

बागमती प्रदेश सरकारले यसवर्ष पनि गाईभैंसीमा लाग्ने लम्पी स्किन रोग न्युनिकरणका लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्दैछ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशले बिहिबार पत्रकार सम्मेलन गरी यहि श्रावण २५ गते शुक्रबार देखि श्रावण ३० गतेसम्म प्रदेशका १३ वटै जिल्लाहरुमा लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले लम्पी स्किन रोगका कारण किसानले भोग्नु परेको समस्या समाधानका लागि पूर्वतयारीमा मन्त्रालय लागेको बताउनुभयो । उहाँले विगतमा यो रोगका कारण ११ हजार भन्दा बढी गाईभैंसी मरेको कुरालाई ध्यानमा राखि मन्त्रालयले रोग लाग्न नदिन पूर्व तयारीका रुपमा खोप अभियान सञ्चालन गर्न लागेको बताउनुभयो ।

यसवर्ष ७६ हजार २ सय ७५ वटा पशुमा लम्पी स्किन रोगविरुद्ध खोप लगाउने लक्ष्य लिएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारले जस्तै स्थानिय पालिकाहरुबाट पनि यो अभियान प्रार्थमिकताका साथ संचालन गरे अझै प्रभावकारी हुने बताउनुभयो । शुक्रबार मकवानपुरगढी स्थित कृषि फार्ममा रहेको गाईलाई खोप लगाएर मन्त्रालयले अभियानको औपचारिक सुरुवात गर्ने उहाँले बताउनुभयो ।

लम्पी स्किन रोग २०७७ साल असारमा प्रथम पटक नेपालमा प्रमाणित भएको र हालसम्म ७७ वटै जिल्लामा देखा परिसकेको छ । नेपालमा यस रोगका कारण ७५ अर्ब ४८ करोड सम्मको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*