मकवानपुर ट्राफिकद्वारा सवारी चालकको स्वास्थ्य परिक्षण तथा लागूऔषध चेकजाँच

छहारी संवाददाता
साउन १८, २०८१

जिल्ला ट्राफिक कार्यालय मकवानपुरले सवारी चालकको स्वास्थ्य परिक्षण, आँखा जाँच तथा लागूऔषध चेकजाँच गरेको छ ।

सवारी दुर्घटना तथा क्षती न्यूनिकरणको लागि शुक्रबार हेटौंडा ११ थानाभर्याङ स्थित ट्राफिक कार्यालय अगाडी बिहान ८ बजे देखि दिउँसो १ बजेसम्म सार्वजनिक ठुला तथा मझौला सवारी साधनका चालक तथा सहचालकको स्वास्थ्य परिक्षण गरिएको हो । सार्वजनिक सवारी साधनहरुका चालक तथा सह–चालकहरुको निःशुल्क स्वास्थ्य चेकजाँच तथा लागूऔषध सेवन गरे/नगरेको समेत परिक्षण गरिएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

कार्यक्रममा १५२ जना सार्वजनिक सवारी साधनका चालक तथा सह–चालकहरुको स्वास्थ्य परीक्षण गर्दा ३६ जनामा उच्च रक्तचाप, १२ जनामा न्यून रक्तचाप र १३ जनामा हाई सुगर देखिएको कार्यालयले जानकारी दिएको छ ।

यस्तै उनिहरुको आँखा जाँच गर्दा १ जनामा मोतिया बिन्दु देखिएकोले अप्रेसनको लागि रिफर गरिएको, ३ जना चालकको आँखामा मासु पलाएको, ४ जना चालकको कलर भिजन छुट्याउन नसक्ने, १२ जना दृष्टि दोष र ३ जना चालकको सुगरका कारण आँखाको पर्दामा रगत जमेको भेटिएको कार्यालयले जानकारी दिएको छ ।

१५२ जना मध्ये ६० जना चालकहरुको लागूऔषध चेकजाँच गरिएकोमा ४ जना चालकमा लागूऔषध गाँजा सेवन पोजिटिभ देखिएकोले उनिहरुलाई सम्झाएर अबदेखि लागूऔषध सेवन नगर्ने प्रतिवद्धता गराई आफन्तको जिम्मा लगाइएको कार्यालयले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको आयोजना तथा बागमती प्रदेश प्रहरी अस्पताल रातोमाटे, जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर, हेटौंडा अस्पताल, सामुदायिक आँखा अस्पताल हेटौंडा, नारायणी यातायात व्यवसायी संघ तथा प्रा.लि. को मेडिकल टिमको सहयोगमा कार्यक्रम गरिएको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक सिताराम रिजाल, जिल्ला ट्राफिक कार्यालय मकवानपुर प्रमुख प्रहरी निरिक्षक केशव अधिकारी, नारायणी यातायात प्रा.लि. मकवानपुरका अध्यक्ष गोकर्ण पराजुली, नारायणी यातायात व्यवसायी संघ मकवानपुरका महासचिव सरोज खनाल लगायत विभिन्न संघ संस्थाका प्रतिनीधिहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*