हेटौंडाको २ नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी
मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ ।
बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गरी वडा कार्यालयले विभिन्न सूचक पूरा गरेसँगै यही साउन १२ गते शनिबार उक्त वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको जानकारी दिएको हो ।
‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हेटौंडा–२ का वडाध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिनुभयो । बालमैत्री स्थानीय शासन वडा घोषणा गर्नका लागि पूरा गर्नुपर्ने ५१ वटा सुुचकमध्ये ४६ वटा सुचकहरु शत प्रतिशत, ३ वटा सुचक ९६ प्रतिशत, १ वटा सुचक ९५ प्रतिशत र १ वटा सुचक ९० प्रतिशतसम्म पुरा गरेको वडा अध्यक्ष महर्जनले दाबी गर्नुभयो ।
१२ गते शनिबार हेटौंडा उपमहानगरपालिका प्राङगणबाट बृहत प्रभातफेरी सहित वडा परिक्रमा गरी नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न हुने बताइएको छ । यसअघि ८ नं. वडा पनि बालमैत्री स्थानीय शासनयुक्त वडा घोषित भइसकेको छ ।