हेटौंंडा कोरा (परिक्रमा) २०२४ ‘साइक्लिङ यात्रा’ सम्पन्न
हेटौंडा राइडर्स क्लबले सातौं संस्करणको ‘हेटौंंडा कोरा (परिक्रमा) २०२४ अर्थात साइक्लिङ यात्रा’ सम्पन्न गरेको छ ।
शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर– २ का वडाध्यक्ष विष्णुगोपाल महर्जन र नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र घिमिरेले संयुक्त रुपमा कोराको उद्धाटन गर्नुभएको हो ।
‘दिस इज नट अ रेस, एभ्रिवन इज अ विनर’ भन्ने नारासहित गरिएको कोरामा १२ वर्ष माथी उमेरका महिला पुरुष दुबै गरी करीब २ सय जनाको उत्साहजनक सहभागीता रहेको क्लबका अध्यक्ष विकास ताम्राकारले जानकारी दिनुभयो ।
वातावरणमैत्री साईकल अभियानलाई प्रवर्द्धन गर्दै व्यायाम र न्यूनतम पेट्रोलियम पदार्थको प्रयोग गराउन प्रेरित गर्ने तथा हेटौंडा नगरलाई स्वच्छ, जिवन्त, सहज र सजिव राख्ने उदेश्यले कोराको आयोजना गरिएको उहाँले बताउनुभयो ।
हेटौंडाको भुटनदेवी मन्दिरबाट सुरु भएको कोरा २०२४ हेटौंडा बजार, सानोपोखरा बनस्खण्डी, जलेश्वर महादेव मन्दिर हुँदै चौकीटोल, सामरी, शिखरकटेरी सालकपार्क राजदेवी एक्लेखेत पुगेर सांस्कृतिक कार्यक्रम सहित पुनः हर्नामाडी, हटिया, चौघडा, पिप्ले हुँदै बुद्धचोकमा रहेको लक्ष्मण साईकल पसलमा आएर सम्पन्न भएको हो ।
समापन कार्यक्रममा सहभागीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको क्लबका सदस्य विपिन ताम्राकारले जानकारी दिनुभयो । ट्राफिक प्रहरी, क्लबका स्वयम सेवकहरुको व्यवस्थापन तथा नेपाल प्रहरीको सुरक्षामा कोरा सम्पन्न भएको उहाँले बताउनुभयो । हेटौंडा राईडर्स क्लवले सन् २०१८ देखी निरन्तर कोरो आयोजना गर्दै आएको छ ।