शनिबार ‘हेटौंंडा कोरा (परिक्रमा) २०२४ ‘साइक्लिङ यात्रा’ हुँदै’

छहारी संवाददाता
साउन २, २०८१

हेटौंडा राइडर्स क्लबले सातौं संस्करणको ‘हेटौंंडा कोरा (परिक्रमा) २०२४ अर्थात साइक्लिङ यात्रा’ आयोजना गर्दैछ । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरी क्लबले यहि श्रावण पाँच गते शनिबार कोरा आयोजना गर्न लागेको जानकारी दिएको हो ।

कोरामा १२ वर्ष माथी उमेरका महिला पुरुषले सहभागीता जनाउन पाउने क्लबका सदस्य विपिन ताम्राकारले जानकारी दिनुभयो । वातावरणमैत्री साईकल अभियानलाई प्रवर्द्धन गर्दै व्यायाम र न्यूनतम पेट्रोलियम पदार्थको प्रयोग गराउन प्रेरित गर्ने तथा हेटौंडा नगरलाई स्वच्छ, जिवन्त, सहज र सजिव राख्ने उदेश्यले कोराको आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

‘दिस इज नट अ रेस, एभ्रिवन इज अ विनर’ भन्ने नारासहित गर्न लागिएको कोरामा सहभागीताको लागि दुई सय रुपैयाँ लाग्ने र जुनसुकै मोडेलका साइकल लिई सहभागी हुन पाइने ताम्राकारले बताउनुभयो ।

करीब ५० किलोमिटर दुरीमा गरिने कोरा अर्थात साइक्लिङ यात्राको रुट हेटौंडाको भुटनदेवी मन्दिरबाट सुरु भई हेटौंडा बजार, सानोपोखरा बनस्खण्डी, जलेश्वर महादेव मन्दिर हुँदै चौकीटोल, सामरी, शिखरकटेरी सालकपार्क राजदेवी हुँदै एक्लेखेतसम्म पुगेर केहिबेर विश्राम लिई पुनः हर्नामाडी, हटिया, चौघडा, पिप्ले हुँदै बुद्धचोकमा पुगेर सम्पन्न हुनेछ ।

कोरामा मकवानपुर सहित चितवन, बारा, पर्सा, काठमाडौं लगायतका जिल्लाबाट गरी करीब २ सय ५० जना राइडरको सहभागिता रहने आयोजकले अनुमान गरेको छ । हाल २ सय जनाले नाम दर्ता गराएको आयोजकले जनाएको छ ।

कार्यक्रममा निःशुल्क जर्सी तथा समापन कार्यक्रममा प्रमाणपत्र तथा मायाको चिनो बितरण गरीने आयोजकले जनाएको छ । साईकल संघ मकवानपुरको सहकार्य तथा हेटौंडा उपमहानगरपालिकाको मुख्य प्रायोजनमा हुने कार्यक्रममा करीब ५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

काठमाडौं पछि पहिलो पटक हेटौंडामा कोरा शुरुवात गरेको हेटौंडा राईडर्स क्लवले सन् २०१८ देखी निरन्तरता दिइरहेको छ । पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष विकास ताम्राकार, सचिव सुरेन्द्र प्रसाद अर्याल, कोषाध्यक्ष, विरेन्द्र वज्रचार्य, सदस्य अनुरोध राजभण्डारी लगायतको उपस्थिती रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*