एष्ट्रोनोभा र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनबीच सम्झौता
मकवानपुर । एष्ट्रोनोभा फाउण्डेशन नेपाल र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनबीच स्टिम शिक्षण सिकाई पेडागोजीमा आधारित शिक्षक विकास उत्पादनमा सहकार्य र सहयात्राको लागि सम्झौता भएको छ ।
फाउण्डेशनले मकवानपुरलगायत आसपासका क्षेत्रमा गर्न लागेको विद्यालय स्टिम कार्यक्रम, किताबरहित शुक्रबार र विधालय अघि वा पछीको समयमा विद्यार्थीहरुमा सिर्जनशीलता, अनुसन्धानात्मक एवम् वैज्ञानिक सोच संस्कृतिको विकासका लागि जापनीज वा सिङ्गापुरियन मोडलका आफ्टर स्कुल कार्यक्रम संचालनलाई आवश्यक पर्ने दक्ष जनशक्ती तयार पार्ने, दीगो र प्रभावकारी रुपमा सञ्चालन गर्ने उद्देश्यले विश्वविद्यालयसँग सम्झौता गरेको हो ।
असार २७ गते विहिबार फाउण्डेशनका अध्यक्ष किशन बास्तोला, प्रबन्धक निर्देशक इन्जिनियर आयुष बस्नेत, इन्जिनियर साहिल श्रेष्ठ, मन्दिल बिष्ट र विश्वविद्यालय स्कुल अफ एजुकेशनका डिन डा। बालचन्द्र लुइँटेल, सीपिएसी संयोजक पार्वती ढुङ्गगाना, स्टिम विभाग प्रमुख विनोद पन्त र शिक्षक प्रशिक्षक मदन रिजालको उपस्थितमा स्टिम शिक्षक प्रशिक्षण कार्यक्रम संञ्चालन र कार्यान्वयन गर्न सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतामा हस्ताक्षर पश्चातको छलफलमा संस्थाका अध्यक्ष किशन बास्तोलाले सम्झौता भएसँगै अब काठमाडौं विश्वविद्यालयले सुरुआती चरणमा ३० जना युवाहरुलाई सर्टिफाई गर्नेगरी ३ क्रेडिट आवरको कोर्स संगै स्टिम प्रशिक्षक तयार बनाई रोजगारीमा जोड्ने लक्ष्य रहेको जानकारी दिए ।
उहाँले शिक्षा क्षेत्रमा काम गर्नको निम्ति काठमाडौँ विश्वविद्यालय जस्तो देशकै गरिमामय शैक्षिक संस्थाको ज्ञान, सीप, विज्ञता, अनुभव र सम्पर्क हेटौंडामा जोड्न सक्नु आफैँमा गर्वको कुरा भएको भन्दै फाउण्डेशनको उद्देश्य अनुसार विद्यार्थीहरुमा सानै उमेरदेखि सिर्जनशिलता र वैज्ञानिक सोच संस्कृतिको विकाससँगै उनीहरुलाई अनुसन्धान, उत्पादन र रोजगारीमा जोड्ने लक्ष्यमा पुग्न एउटा महत्वपूर्ण खुड्किलो रहेकोले थप कृयाशील र जिम्मेवार भई अघि बढ्ने बताउनुभयो ।
त्यस्तै काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनका प्राध्यापक, डिन एवम शिक्षाविद् बालचन्द्र लुइँटेलले शिक्षामा साँच्चै परिवर्तनको खाँचो छ भन्ने महसुस गर्ने विद्यालयहरुसँग सहकार्य गरेर काम गर्न सुझाएका थिए । साथै यसमा काठमाडौँ विश्वविद्यालयले आवश्यकता पहिचान, विश्लेषण र कार्यक्रम कार्यन्वयनमा फाउण्डेशनलाई आवश्यक सहयोग गर्ने बताउनुभयो ।
स्नातक वा स्नातकोत्तर पढ्दै गरेका विद्यार्थीहरुलाई विश्वविद्यालयका विज्ञ टोलीद्वारा प्रशिक्षण गराई सक्षम प्रशिक्षक उत्पादनका लागि सहकार्य गर्न दुबै पक्ष तयार भएको सम्झौतामा उल्लेख छ । साथै संस्थाले तालिममा सामेल हुने र त्यसपश्चात् कम्तिमा दुई वर्ष समय दिनसक्ने युवाहरुकोलागि तीस जनाको सिट रहने गरि चाँडै दरखास्त आह्वान गर्ने र यस कार्यक्रममा स्टिम शिक्षामा काम गर्न इक्छुक इन्जिनियरिङ, आइटी, विज्ञान, वन विज्ञान, शिक्षाशास्त्र, ब्यबस्थापन, मानविकी संकायका विद्यार्थीहरुले दरखास्त दिन सक्ने फाउण्डेशनका अध्यक्ष बास्तोलाले बताए ।