मकवानपुरमा बोतलसँग विरुवा अभियान सुरु (तस्वीरहरु)
फोटोग्रफी क्षेत्रमा स्थापीत ‘द क्यान्डिड स्टुडियो’ले वातावरण संरक्षणमा पनि सक्रियता देखाएको छ ।
‘द क्यान्डिड स्टुडियो’ हेटौंडाको टिमले हेटौंडा–७ न्युरेनी स्थित पशुपति मन्दिर परिसर क्षेत्रमा वृक्षारोपण गरेको छ । बेल, अमला, कागती, तेजपात, पारिजात, जामुन सहित १ सय ५० वटा विरुवा रोपिएको स्टुडियोका प्रवन्धक निर्देशक ओम प्रसाद फुयालले बताउनुभयो ।
वृक्षरोपण कार्यक्रममा द क्यान्डिड स्टुडिया टिमका साथै वन विज्ञान अध्ययन संस्थानका विद्यार्थी, रोट¥याक्ट क्लब अफ मकवानपुर र स्थानीयबासीहरुको सहभागितामा रहेको थियो ।
‘द क्यान्डिड स्टुडियो’ ले बोतलसँग विरुवा अभियान समेत सुरु गरेको छ । जथाभावी फालिएका प्लाष्टिकका बोटलले वातावरण फोहोर र प्रदूषित बनाउँदै लगेकाले यसको न्यूनीकरणका लागि बोतल सँग विरुवा साट्ने अभियान सञ्चालन गरिएको स्टुडियोका प्रवन्धक निर्देशक फुयालले बताउनुभयो ।
यस अभियानमा पानिको वा पेयपद्धार्थका ८ वटा खाली बोतलसँग एउटा विरुवा साटिनेछ । बोतल जम्मा गरेर सम्पर्क गरेमा घरमै विरुवा पुराउने व्यवस्था समेत मिलाइएको उहाँले बताउनुभयो । यस वर्ष एक हजार विरुवा रोप्ने स्टुडियो टिमको लक्ष्य छ ।