लापरवाही र अनियमितता विरुद्ध विद्यार्थीको शान्तिपूर्ण आन्दोलन तथा क्याम्पसको ध्यानाकर्षण
नेपाल विद्यार्थी संघ हेटौंडा क्याम्पस इकाई समितिले त्रिभुवन विश्वविद्यालयको लापरवाही र अनियमितता विरुद्ध शान्तिपूर्ण आन्दोलन तथा हेटौंडा क्याम्पस प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
शुक्रबार नेविसंघ हेटौंडा क्याम्पसका इकाई सभापती युवराज विश्वकर्माको नेतृत्वमा हेटौंडा क्याम्पसबाट र्याली र जुलुस सहित निस्किएका विद्यार्थीहरुले बुद्ध चोक, मानस चोक, सानोपोखरा हुँदै पुनः हेटौंडा क्याम्पस पुगेर ध्यानाकर्षण पत्र बुझाएका हुन् । परीक्षा समयमा नलिएको, नतीजा समयमा प्रकाशित नगरेको लगायत विभिन्न विषयमा विद्यार्थीहरुले विरोध गरेका हुन् ।
२ सय ५० भन्दा धेरै विद्यार्थीहरुको सहभागिता रहेको र्यालीमा शैक्षिक माफिया मुर्दावाद, हाम्रो भविष्य सुनिश्चित गर्, लापवाही गर्न पाइँदैन लगायतका नारा लगाइएको थियो । पहिलो चरणको कार्यक्रम सकिए पछि क्याम्पसमा स्ववियु र प्रशासनले विभिन्न शीर्षकमा लापरवाही गरेको भन्दै ७ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको हो ।
इकाई सभापती विश्वकर्माले कार्यक्रम ऐतिहासिक र उपलब्धिपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफ्ना मागहरु सम्बोधन नभए चरणवद्ध आन्दोलनको तयारीमा रहेको चेतावनी समेत दिनुभयो ।