प्राकृतिक विपद्का घटनामा व्यवस्थापनको सवाल प्रमुखः आर्थिक मामिलामन्त्री थपलिया

जनताको जिउधनको सुरक्षा गर्ने दायित्व जनप्रतिनिधिकोः वनमन्त्री पोखरेल
छहारी संवाददाता
बैशाख २७, २०८१

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगालागी, वन डढेलो लगायतका प्राकृतिक विपद्मा व्यवस्थापनको सवाल प्रमुख रहेको बताउनु भएको छ ।

बिहिबार जनपत्र मिडिया प्रालि हेटौंडामा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमलाई संबोधन गर्दै उहाँले प्राकृतिक विपद् व्यवस्थापनका लागि विज्ञसंग छलफल गरी आगामी बजेटबाट सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो । प्राकृतिक विपद्बाट जोगिने जोगाउने विषयमा अचेल बेवास्ता बढेकोले चुनौति अझै थपिएको उहाँले बताउनुभयो । वन जोगाउन हिजो जनतामा जुनप्रकारको जतन, चासो देखिन्थ्यो अहिले नरेको उहाँको भनाई छ ।

कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरणमन्त्री केशव प्रसाद पोख्रेलले जनताको जिउधनको सुरक्षा गर्ने दायित्व जनप्रतिनिधिको रहेको बताउनु भयो । बजेट र योजना बनाउने बेलामा जनताको गुनासा सुन्न पाएको खुसी व्यक्त गर्दै उहाँले स्थानियले राखेका समस्या आगामी योजनामा समेट्न सजिलो हुने बताउनुभयो ।

मन्त्री पोख्रेलले प्रदेशको कुल भुभागको ५३ प्रतिशत जनिम वनले ढाकेको बताउँदै वनलाई आर्यआर्जनसँग जोड्न र वनको काठ प्रयोग गर्न प्रदेश सरकारले यसअघि चैत्र २० गते नै स्वदेशी काठमात्रै प्रयोग गर्ने निर्णय गरिसकेको बताउनुभयो ।

यस्तै बागमती प्रदेशसभाका सदस्य भारती पाठकले वन डढेलोले मानवीय क्षतिको समेत जोखिम बढेको बताउनु भयो । वन डढेको आवश्यक पनि रहेको भन्दै उहाँले तर व्यवस्थापनको कमजोरी र सिपको अभावनका कारण अहिले वन डढेलो विपद् बन्न पुगेको बताउनुभयो ।

यस्तै बागमती प्रदेशसभाका सदस्य लक्ष्मी श्रेष्ठले सबैले आ–आफ्नो स्थानबाट विपदबाट बच्न ध्यान दिनु पर्ने बताउनुभयो । अहिले बागमती प्रदेश र मकवानपुर जिल्लामा समेत विपद्का घटना धेरै भएकाले यसको पूर्व तयारीमा लाग्न सरकारले ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा सहभागि स्थानीय वासिन्दाहरुले विपद्बाट जोगाउन बागमती प्रदेशका मन्त्री, सांसद तथा स्थानीय तहका जनप्रतिनिधिहरुसंग आग्रह गरेका थिए । स्थानियहरुले सिमेन्ट उद्योगको खानीमा जथाभावि उत्खनन्का कारण पनि बाढी पहिरोका घटना बढ्दै गएको, मकवानपुरगढीको बुङदल, सोलिथुमको चुहार लगायतका क्षेत्रमा चट्याङबाड भएका क्षतिका घटना, खोलामा निर्माण हुन लागेको पुल समयमै नबन्दा गाउँलाई पारेको असर लगायतका विषयमा गुनासो राखेका थिए ।

संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा स्थानीय स्तरमा हुने गरेको आगलागी, चट्याङ्, बाढीपहिरो जस्ता विपद्का विषयमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर–६ भालुखोलामा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य विन्दु श्रेष्ठ, सकुन्तला श्रेष्ठ, बालकुमारी विश्वकर्मा, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतान, निवर्तमान अध्यक्ष विदुर हुमागाई, वडा नम्बर–६ का अध्यक्ष कृष्ण बजगाई लगायतले विपद्बाट हुने जोखिम नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने बताउनुभयो । कार्यक्रम जनपत्र मिडिया प्रालिका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*