अब काम गर्ने शैली बदल्नुपर्ने बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलको भनाई
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अब काम गर्ने शैली बदल्नुपर्ने बताउनुभएको छ ।
उहाँले समयको माग आवश्यकतामा आधारित काम गर्नुपर्ने भएपनि काम गर्ने शैली पञ्चायत कालको नै भएको जिकिर गर्नुभयो । बुधबार हेटौंडामा भएको संघीयता सुदृढीकरण तथा संविधान कार्यान्वयन विषयक कार्यशाला गोष्ठीमा बोल्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले काम गर्ने पुरानो शैलीले वर्तमान आवश्यकता पुरा नहुने बताउनुभयो ।
उहाँले राज्यको लगानी प्रतिफल नदिने क्षेत्रमा प्रयोग गर्न नहुने उल्लेख गर्नुभयो । मुख्यमन्त्री जम्कट्टेलले ५ वर्षमा खाद्यान्नमा आत्मनिर्भर हुने गरी प्रदेश सरकारले नीति बनाएको दाबी समेत गर्नुभयो । संघीय लोकतान्त्रिक व्यवस्थाकै कारण अहिले समाजको पहिचान खुलेको उहाँको भनाई छ । सरकारको नेतृत्व परिवर्तन भएपनि सबैले निराशा नभई उत्साहित ढंगले नै काम गर्नुपर्नेमा मुख्यमन्त्री जम्कट्टेलले जोड दिनुभयो ।
यसैगरी मुख्यमन्त्री जम्कट्टेलले जिल्ला समन्वय समितिको कामलाई प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको दाबी गर्नुभयो । उहाँले अब ढुंगा, गिटी, बालुवाको कर प्रदेश सरकारले नलिने पनि स्पष्ट पार्नुभयो । मुख्यमन्त्री जम्कट्टेलले समन्वय समितिलाई नीतिमा काम गर्ने निकायको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला समन्वय समितिले बनाउने ऐनहरुमा प्रदेश सरकार बाधक नबन्ने समेत उहाँले स्पष्ट पार्नुभयो ।
यस्तै कार्यशाला गोष्ठीमा बोल्नुहुँदै जिल्ला समन्वय समिति महासंघका महासचिव अशोककुमार घिमिरे र उपमहासचिव दिपक गौतमले समन्वय समितिले प्रभावकारी ढंगले काम गर्ने वातावरण हुनुपर्ने बताउनुभयो । समन्वय समितिले गरेका निर्णयहरु कार्यान्वयन गर्नुपर्ने बाध्यात्मक कारी कानुनहरु नभएकोमा उनीहरुको असन्तुष्टि थियो । जिल्लामा रहेका सरकारी कार्यालयको प्रमुखहरुमा समन्वय समितिको प्रमुखलाई नै राख्नुपर्नेमा उनीहरुको जोड थियो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् जिसस महासंघ बागमती प्रदेश अध्यक्ष ललितबहादुर घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश अन्तर्गतका जिल्लाका समन्वय समितिका प्रमुख, उपप्रमुखहरुको आतिथ्यता रहेको थियो ।