हेटौंडामा पनि ६७ औँ राष्ट्रिय सहकारी दिवस भव्य रुपमा मनाइयो

छहारी संवाददाता
चैत्र २०, २०८०

बागमती प्रदेशको राजधानी हेटौंडामा पनि ६७ औँ राष्ट्रिय सहकारी दिवस भव्य रुपमा मनाइएको छ ।मंगलबार देशैभरी जस्तै हेटौंडामा पनि “सहकारीमा सुशासनः प्रविधि र एकिकरण” भन्ने नाराका साथ र्याली तथा सभा आयोजना गरी सहकारी दिवस मनाइएको हो।

कार्यक्रमको उद्घाटन् गर्दे बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बर्जाचार्यले सहकारीका पक्षमा एक जुट भएर लाग्न आग्रह गर्नुभयो । अब आफुपनि सहकारी क्षेत्रको विकासको पक्षमा लाग्ने उहाँले बताउनुभयो । केही थोरै सहकारीको बदनामीका कारण समस्या भइरहेको र राम्रा सहकारी ९९ प्रतिशत रहेकाले सहकारीहरु आफै पनि एक जुट हुन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेश सहकारी बोर्डका उपाध्यक्ष तथा जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले सहकारीका क्षेत्रमा यस प्रदेशमा मात्र ५१ अरब रुपैयाँ शेयरपुँजी रहेको बताउनुभयो । प्रदेश सरकारले सहकारीको अनुगमन क्षेत्रलाई धेरै व्यापकता बनाएको बताउनुभयो । सहकारी एकिकरणको प्रयासमा आफुहरु लागिपरेको उहाँले बताउनुभयो । प्रदेशभरका ३० हजार सहकारी संस्थाहरुलाई एकिकरण गरेर १० हजार सहकारी बनाइने उहाँले दाबी गर्नुभयो ।

नेपालमा २०१३ साल चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्थाको स्थापना भइ सहकारी आन्दोलनको शुरुवात भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको हो ।

सहकारीको क्षेत्रमा झण्डै ६० लाख सदस्य छन् । पछिल्लो समय संख्यात्मक विकास भए पनि सहकारीको गुणस्तर र विश्वसनियता बढ्न सकेको छैन । कतिपय सहकारीको कारोबारमा जोखिम अवस्था छ । सहकारीले आफ्नो रकम अपचलन गरेको भन्दै बचतकर्चा नै आन्दोलनमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*