नगरको विकासका लागि निजी क्षेत्रसंग सहकार्य गछौंः मेयर लामा

हेटौंडामा आयोजित आठौं प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी सम्मपन्न
छहारी संवाददाता
चैत्र ६, २०८०

हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले नगरको विकास र समृद्धिका लागि निजी क्षेत्रसंग सहकार्य गर्न तयार रहेको बताउनु भएको छ ।

हेटौंडामा आयोजित आठौं प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी–२०८० को समापन समारोहलाई संम्बोधन गर्दै उहाँले नगरको विकासका लागि नियम, परिधी र कानुनमा रहेर निजी क्षेत्रसंग सहकार्य गर्न तयार रहेको बताउनुभयो । जिम्मेवारीमा रहँदा केहि तिता मिठा कुराहरु भएपनि मनमा नलिन भन्दै उहाँले नयाँ ढंगबाट नगरको विकासका लागि सहकार्य गर्न आग्रह गर्नुभयो । उहाँले महिलाहरु दिगो आर्यआर्जनमा जोडिन जरुरी रहेको बताउनुभयो ।

११ वर्षपछि “पर्यटन, कृषि, लघु उद्यमशीलता–महिला सहभागिता आजको आवश्यक्ता” भन्ने नाराका साथ आयोजना भएको प्रदर्शनीमा मकवानपुर, सिन्धुली, चितवन, काठमाडौं, नुवाकोट, ईटहरी लगायतका जिल्लाका महिला उद्यमीहरुको ४५ वटा घरेलु उत्पादनका सामग्रीहरुको स्टल रहेको थियो।

प्रदर्शनी अवधीमा महिला उद्यमीहरुको वस्तु तथा सेवाहरुको प्रदर्शनी तथा बिक्री, कृषि उपजहरुको प्रदर्शनी तथा बिक्री, स्थानीय कलाकारहरुको दैनिक मनोरञ्जनात्मक प्रस्तुति, महिला उद्यमीहरुको सफलताको कथा प्रस्तुति, महिला उद्यमशीलता लगायतका विषयमा प्यानल छलफल, कृषि सम्बन्धी खुल्ला अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको थियो ।

समापनमा ११ बर्ष पछि मकवानपुर उद्योग बाणिज्य संघ महिला उद्यमी समितिले प्रकाशन गरेको स्मारीका समेत बिमोचन गरीएको थियो । संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण कटुवाल, मकवानपुरका प्रहरी प्रमुख सिताराम रिजाल, महिला उद्यमी समितिका सभापती अंकिता सुमार्गी, मउवा संघका पुर्व अध्यक्ष अरुणराज सुमार्गी, प्रदर्शन कर्ता नुरानी ढुङ्गेल लगाएतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*