आठौं प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनीः विभिन्न क्षेत्रमा महिला सहभागिता विषयक सामुहिक बहस

छहारी संवाददाता
चैत्र ४, २०८०

बागमती प्रदेशको राजधानी हेटौंडामा जारी आठौं प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनीको तेस्रो दिन विभिन्न क्षेत्रमा महिला सहभागिताका विषयमा सामुहिक बहस भएको छ ।

आइतबार “पर्यटन, कृषि, लघु उद्यम, पेशागत, विविध व्यवसायिक तथा सामाजिक क्षेत्रमा महिला सहभागिता” विषयक बहस सम्पन्न भएको हो ।
मकवानपुर उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिकी सभापति अंकिता सुमार्गीको अध्यक्षतामा भएको बहसमा विभिन्न क्षेत्रमा लामो समयदेखि सक्रिय भूमिका निर्वाह गरिरहनु भएका चार जना महिलाहरुले भाग लिनु भएको थियो ।

बहसमा महिला सशक्तिकरणको क्षेत्रमा सक्रिय, नेपाल सरकारका पूर्व उपसचिव महेश्वरी विष्ट, सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका महिला विकास अधिकृत चन्द्रा कुमारी व्यञ्जनकार, कानून व्यवसायी शान्तिमाया मोक्तान र बैंकर अन्जली श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । बहसमा सहभागी व्यञ्जनकारले नेपाल सरकारले अहिले महिला उद्यमीहरुको प्रोत्साहनका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम संचालन गरिरहेको बताउनुभयो ।

उहाँले महिला उद्यमशिलता विकास, वित्तिय पहुँच, प्रविधी सहयोग कार्यक्रम अन्तरगत २०७७ सालको निर्देशिका अनुसार प्रत्येक प्रदेशबाट महिला उद्यमी छनोट गरी सहयोग दिँदै आएको बताउनुभयो ।

यस्तै नेपाल सरकारका पूर्व उपसचिव महेश्वरी विष्टले समयसंगै धेरै कुरा फेरीको भन्दै अहिले ठुला ठुला पदमा महिलालाई देख्दा गर्व लाग्ने बताउनुभयो।

११ वर्षपछि “पर्यटन, कृषि, लघु उद्यमशीलता–महिला सहभागिता आजको आवश्यक्ता” भन्ने नाराका साथ शुक्रबारबाट सुरु भएको प्रदर्शनी चैत्र ६ गतेसम्म चल्नेछ । हेटौंडाको पल्पसा सदनमा जारी प्रदर्शनीमा मकवानपुर, सिन्धुली, चितवन, काठमाडौं, नुवाकोट, ईटहरी लगायतका जिल्लाका महिला उद्यमीहरुको हस्तकलाका उत्पादनहरु, कृषि सम्बन्धी स्टल, विभिन्न परिकारका स्टलहरु राखिएका छन् ।

आइतबारको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, पूर्व अध्यक्ष अरुणराज सुमार्गी, सदस्य विकेशलाल श्रेष्ठ, गैसस महासंघ बागमती प्रदेश अध्यक्ष आरती पाठक, गैसस महासंघ मकवानपुर अध्यक्ष रमिला सापकोटा, चेलिबेटी बेचबिखन विरुद्ध अभियानका प्रतिनिधीहरु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*