चालु आर्थिक वर्षमा श्रम स्वीकृत लिएर १३ हजार एक सय एक जना वैदेशिक रोजगारीमाः सामी

छहारी संवाददाता
चैत्र २, २०८०

मकवानपुर जिल्लाबाट चालु आर्थिक वर्षमा श्रम स्वीकृत लिएर १३ हजार एक सय एक जना वैदेशिक रोजगारीमा गएका छन् ।

सुरक्षित आप्रवासन परियोजना (सामी)ले शुक्रबार पत्रकारहरुसँग गरेको अन्तरक्रियामा चालू आर्थिक वर्षमा मकवानपुरमा १३ हजार एक सय एक जना वैदेशिक रोजगारीमा गएको जानकारी दिइएको हो । यस्तै चालू आर्थिक वर्षको साउनदेखि फागुन सम्म ५ हजार सात सय ३७ जनाले नयाँ श्रम स्वीकृती लिएका छन् भने ७ हजार छ सय ४७ जनाले पुन श्रम स्वीकृती लिएका छन् ।

बागमती प्रदेशका १३ जिल्लामध्ये वैदेशिक रोजगारीमा जानेमा मकवानपपुर दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको चितवनबाट यसवर्ष १५ हजार नौ सय ३२ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएको श्रम तथा रोजगार विभागको तथ्याङ्कले देखाएको छ ।

कार्यक्रममा बोल्दै सुरक्षित आप्रवासन परियोजना सामीका कार्यक्रम संयोजक अंजिता थापा मगरले मकवानपुरको १० वटा स्थानीय तहमध्ये ४ स्थानीय तहमा यो परियोजना लागु भएको जानकारी दिनुभयो ।

हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउापालिका र बकैया गाउँपालिकामा परियोजना लागू भएको छ । श्रावण देखि माघ मसान्त आप्रवासी स्रोत केन्द्रमा निशुल्क कानुनी सहायताका लागि १ सय १८ वटा समस्या दर्ता भएकोमा ४८ वटा समस्या समाधान भएको र ७० वटा प्रक्रियामा रहेको संयोजक मगरले बताउनुभयो । क्षतिपुर्ति बापत बैदेशिक रोजगार बोर्ड, बिदेश स्थित कम्पनीहरुबाट ९९ लाख ३१ हजार सहायता रकम उपलब्ध गराउन सफल भएको उहाँले बताउनुभयो ।

यो अवधीमा आप्रवासी स्रोत केन्द्रबाट ४ हजार दुई सय ६३ जनाले सूचना तथा परामर्श सेवा लिएका छन् । सुरक्षित आप्रवाशन कार्यक्रम अन्तर्गत सूचनामा पहुँच, न्यायमा पहुँच, सीप विकास तालिम, मनोसामाजिक परामर्श, वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यलाई वित्तिय साक्षरता प्रदान गर्ने जस्ता कार्य गर्दै आइरहेको छ ।

कार्यक्रममा हेल्वेटास नेपालकी प्राविधिक सहयोगी उमा पौडेल, मनोपरामर्शकर्ता प्रतिक्षा भट्टराई, सामाजिक परिचालक अधिकृत प्रतिक्षा खड्का, सूचना तथा परामर्शकर्ता पार्वती विकले सामी परियोजना अन्तर्गत भैरहेका कामहरुका विषयमा जानकारी गराउनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*