महिला उद्यमी बन्ने बाटो चुनौतीपूर्णः मन्त्री मोक्तान

हेटौंडामा आठौं प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी २०८० सुरु
छहारी संवाददाता
चैत्र २, २०८०

बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले महिला उद्यमी बन्ने बाटोमा धेरै चुनौती रहेको बताउनु भएको छ । शुक्रबारदेखि हेटौंडामा सुरु भएको आठौं प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी २०८० को उद्घाटन गर्दै उहाँले महिला उद्यमीले धरै चुनौतीहरु पार गरीसकेपछि मात्रै अहिलेको अवस्थामा आएको बताउनुभयो ।

उद्यमशिलताको लागि लगानी चाहिने भन्दै उहाँले महिलामा कुनैपनि किसिमको सम्पत्तीको अधिकार नहुँदा पनि संघर्ष गरी अगाडी बढेका महिलामा गरिने लगानीलाई तिनै तहको सरकारले संस्थागत गर्नु जरुरी रहेको बताउनुभयो । मन्त्री मोक्तानले तिनै तहबाट महिला उद्यमशिलताको लागि लगानीहरु भइरहेपनि प्रभावकारी नदेखिएकोले संस्थागत गर्नु जरुरी रहेको जिकिर गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद एकालाल श्रेष्ठले महिला उद्यमीहरुको उत्पादन विक्री प्रवर्दन गर्न योजना निर्माणको काम भइरहेको बताउनुभयो । उहाँले यस्ता प्रर्दशनीले बागमती प्रदेश भित्र रहेका व्यवसायीहरुलाई उत्साही बनाउने बताउनुभयो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले साना तथा घरेलु तहका उत्पादनहरुलाई ब्राण्डिङ गरी उद्यमशीलताको विकास गर्नु पर्ने बताउनुभयो । उहाँले दैनिक उपभोग्य वस्तुहरु समेत अर्कैको भर पर्नु पर्ने अवस्था रहेको भन्दै स्थानिय स्तरमै उत्पादनलाई जोड दिन आग्रह गर्नुभयो ।

मकवानपुर उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिको आयोजनामा ११ वर्षपछि “पर्यटन, कृषि, लघु उद्यमशीलता–महिला सहभागिता आजको आवश्यक्ता” भन्ने नाराका साथ सुरु भएको प्रदर्शनी चैत्र ६ गतेसम्म चल्नेछ ।

हेटौंडाको पल्पसा सदनमा जारी प्रदर्शनीमा मकवानपुर, सिन्धुली, चितवन, काठमाडौं, नुवाकोट, ईटहरीदेखिका उद्यमीहरुका महिला उद्यमीहरुको हस्तकलाका उत्पादनहरु, अन्य वस्तु तथा सेवाहरुको प्रदर्शनी साथै कृषि सम्बन्धी स्टलहरु राखिएको छ ।

प्रदर्शनी अवधीभर महिला उद्यमीहरुको बस्तु तथा सेवाहरुको प्रदर्शनी तथा बिक्री, कृषि उपजहरुको प्रदर्शनी तथा बिक्री, स्थानीय कलाकारहरुको दैनिक मनोरञ्जनात्मक प्रस्तुति, महिला उद्यमीहरुको सफलताको कथा प्रस्तुति, महिला उद्यमशीलता लगायतका विषयमा प्यानल छलफल, कृषि सम्बन्धी खुल्ला अन्तक्रिया कार्यक्रम हुनेछ ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता तथा महिला उद्यमी विकास समितिका सभापति अंकिता सुमार्गीको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रिनाथ शर्मा, हेटौंडा–११ का वडा अध्यक्ष जुना दहाल, नेकपा एमालेका सुमित्रा काफ्ले, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश सदस्य तथा मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उत्तमशर्मा ढकाल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*