अहिलेको संविधान पनि असफल हुने अवस्थामाः पूर्व उपप्रधानमन्त्री महतो
पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले अहिलेको संविधान पनि असफल हुने अवस्थामा रहेको बताउनु भएको छ ।
बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उहाँले नेपालमा ७० वर्षमा ७ वटा संविधान बनेको भन्दै अहिलेको ७ औं संविधानपनि अघिल्ला संविधान जस्तै असफल हुने अवस्थामा पुगेको बताउनुभएको हो । उहाँले २०७२ सालमा जारी भएको संविधानले पनि जनताको अधिकार र पहिचानलाई स्थापित गर्न नसकेको बताउनुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी राष्ट्रिय मुक्ति क्रान्ति अभियानको समेत शुरुवात गर्नुभएका नेता महतोले शासन र संविधान के को लागि भन्दै प्रश्न गर्नुभयो । उहाँले जनतालाई अधिकार र पहिचान नदिएर राजनितीक दलहरुले कुर्सी जोगाउने खेलमा मात्र लागेको आरोप लगाउनुभयो । उहाँले नेताहरु काण्डै काण्डमा लिप्त भएको समेत आरोप लगाउनुभयो ।
नेता महतोले सुशासन, समृद्धि, जनताको अधिकार माथि भएको आक्रमणलाई रोक्न नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनुपर्ने बताउनुभयो । उहाँले बहुल राष्ट्रिय राज्य अभियानलाई ८२ सालमै सफल बनाउन लागिपर्ने बताउनुभयो ।