बागमती प्रदेशको बजेट विवादः संसदीय विशेष समितिले सभामुखलाई प्रतिवेदन बुझायो
बागमती प्रदेशको बजेट विवाद समाधानका लागि गठित संसदीय विशेष समितिले सभामुख समक्ष प्रतिवेदन बुझाएको छ ।
समितिले मंगलबार बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकलाई प्रतिवेदन बुझाएको हो । सभामुखलाई प्रतिवेदन बुझाएपछि पत्रकारहरूसंग प्रतिक्रिया दिँदै समिति संयोजक गोविन्द लम्सालले समितिले दिएका निर्देशन सरकारले कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
उहाँले बजेटमा भएको असन्तुलनलाई समाधान गर्न गरिएको दलहरू बिचको सहमतिलाई समितिले अध्ययन गरी प्रतिवेदन तयार गरेकाले सो विषयहरू कार्यान्वयन गर्न सरकारलाई समस्या नहुने बताउनुभयो ।
समितिले उक्त प्रतिवेदनमार्फत बजेट कार्यक्रमका विषयमा सत्तापक्ष र प्रतिपक्ष दहहरूबिच भएको सहमति अनुसार मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको योजनामा बजेट विनियोजन गरेर कार्यान्वयन गर्न सुझाव दिएको छ ।
सत्तापक्ष र प्रतिपक्ष बिच चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गर्दाको समयमा भएको सहमति कार्यान्वयनका विषयमा विवाद भई प्रदेशसभा बैठक नै प्रभावित बनेपछि गत फागुन १७ गते बसेको सर्वदलीय बैठकले कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक गोविन्द लम्सालको संयोजकत्वमा ११ सदस्यीय विशेष समिति गठन गरेको थियो ।