राष्ट्रिय सभा अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार दाहाल निर्वाचित

छहारी संवाददाता
फाल्गुन २९, २०८०

राष्ट्रिय सभा अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार नारायणप्रसाद दाहाल निर्वाचित हुनुभएको छ । मंगलबार बसेको सभाको बैठकले नेकपा माओवादी केन्द्रका दाहाल बहुमतले निर्वाचित भएको घोषणा गरेको हो ।

दाहाल नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवार बन्नुभएको थियो ।
दाहाललाई माओवादी केन्द्रका १७, एमालेका १०, एकीकृत समाजवादीका आठ र जसपाका तीन सदस्य गरी ३८ जनाले पक्षमा मत दिए । यस्तै राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमले पनि दाहाललाई मत दिनुभयो ।

दाहालका प्रतिस्पर्धी राष्ट्रिय सभा सदस्य युवराज शर्मा पराजित हुनुभयो । नेपाली कांग्रेसका उम्मेदवार शर्माको विपक्षमा बहुमत सदस्यले मत व्यक्त गरेपछि प्रस्ताव अस्वीकृत भएको हो । शर्मा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । शर्माको पक्षमा १७ मत र विपक्षमा ३९ मत परेको छ ।

आजको मतदानमा ५६ जना सांसद उपस्थित थिए । राष्ट्रिय जनमोर्चा नेपालका एक मात्र सांसद तुलप्रसाद विश्वकर्माले दुवै उम्मेदवारलाई भोट दिनुभएन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*