साना दललाई पनि सरकारमा सामेल गराउन पहल थाल्नेः एमाले बागमती प्रदेश संसदीय दल

छहारी संवाददाता
फाल्गुन २९, २०८०

नेकपा एमालेले बागमती प्रदेशसभामा रहेका अन्य साना दललाई समेत सरकारमा सहभागी हुन पहल गर्ने भएको छ ।

सोमबार बसेको नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकले नयाँ राजनीतिक समीकरणमा सहभागी रहेका दल तथा अन्य साना दलहरुसँग सरकारमा सहभागिताको विषयमा छलफल अगाडि बढाउने निर्णय गरेको हो । बैठकमा सांसदहरुले सरकारमा सहभागी हुने विषयमा राय, सल्लाह र सुझाव राखेका थिए ।

संघीय गठबन्धन अनुसार प्रदेशमा हाल माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल नेतृत्वको सरकार छ । केन्द्रीय गठबन्धन अनुसार माओवादी केन्द्र, नेकपा एमाले र नेकपा एकिकृत समाजवादी मिल्दा समेत प्रदेश सरकार गठन हुने अवस्था छैन । सदनमा २ मत रहेको हाम्रो नेपाली पार्टी अहिले निर्णायक देखिएको छ । त्यसकारण सरकारमा साना दललाई समेत सहभागी गराउने विषयमा छलफल अगाडि बढाउन लागिएको हो ।
११० सदस्यीय प्रदेशसभामा सरकार गठन गर्न ५६ मत आवश्यक पर्छ ।

प्रदेशसभामा नयाँ गठबन्धनमा आबद्ध एमालेका २७, माओवादी केन्द्र २१ र नेकपा एसको ७ गरी कुल ५५ मत रहेको छ । अब सरकार गठन गर्न १ मत आवश्यक छ । जसका कारण हाम्रो नेपाली पार्टीको समर्थन सरकारले जोगाइ राख्न कसरत गरिरहेको छ । प्रदेशसमा कांग्रेसको ३७, राप्रपाका १३, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*