मकवानपुरको ठिङ्गन हुँदै काठमाडौं पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने

छहारी संवाददाता
फाल्गुन २८, २०८०

ललितपुरको टीकाभैरवदेखि तीनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौंडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने भएको छ ।

ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आउँदो चैत १ गते बिहीवारदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार काल्चे खण्ड बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बन्द हुनेछ । यो खण्ड अन्तर्गत झण्डै १ दशमलव ५ किलोमिटर सडक खण्डको साँघुरो ठाउँमा सडक चौडा गर्न लागिएको हो ।

सडकमाथिका कडा चट्टान कटिङ गर्ने निर्णय भएसंगै यसका लागि अहिले ४५ दिन लाग्ने योजनाको अनुमान छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा यही फागुन १६ गते बसेको बैठकले कान्तिराजमार्ग खण्डमा एम्बुलेन्सलगायत अन्य अत्यावश्यक सेवाका गाडीलाई सञ्चालन गर्न सहजीकरण गर्ने निर्णय समेत गरेको छ ।

विसं २०१३ मा शिलान्यास गरिएको काठमाडौँलाई हेटौँडासँग जोड्ने सडक मार्गको पाँच किलोमिटर भाग अझै कालोपत्रे हुन बाँकी रहेको इन्जिनियर महर्जनले बताउनुभयो । सरकारले प्राथमिकता नदिँदा र विगतमा निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले ढिलासुस्ती गरेर काम गर्दा यो सडक निर्माण ६७ वर्षदेखि निर्माणाधीन अवस्थामै छ । कान्तिराजमार्गको हेटौँडा बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म लम्बाइ ९२ किलोमिटर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*