राधेश्याम स्मृति साहित्य सम्मानबाट कवी पुरुषोत्तम आचार्य सम्मानित
राधेश्याम विजया फाउण्डेशन मकवानपुरले साहित्य सम्मान तथा शैक्षिक पुरस्कार समर्पण गरेको छ । सोमबार हेटौंडा १८ गुम्बाडाँडामा रहेको श्याम प्रसाद स्मृति पार्कमा एक कार्यक्रम गरी फाउण्डेशनले एक जना साहित्य स्रष्टा र एक जना छात्रालाई नगद सहित सम्मान तथा पुरस्कृत गरेको हो ।
नगद ११ हजार १ सय ११ रुपैयाँसहित राधेश्याम स्मृति साहित्य सम्मान कवी पुरुषोत्तम आचार्य र नगद १० हजार ५ रुपैयाँसहित विजयादेवी शैक्षिक पुरस्कार पवित्रा तिमल्सेनालाई प्रदान गरिएको हो । तिमल्सेनाले २०७९ सालको एसईईमा ज्योति माविबाट ३.६५ जिपिए ल्याएर उत्कृष्ट हुनु भएको थियो ।
वामपन्थी नेता स्वर्गीय राधेश्याम खतिवडा र ८६ वर्षिया आमा विजयादेवी खतिवडाकोे नाममा २०७६ सालमा उहाँका छोराहरु अरुण र बरुण खतिवडाले दश लाख रुपैयाँको अक्षय कोष खडा गरि फाउण्डेश स्थापना गर्नुभएको हो ।
राधेश्याम विजया फाउण्डेशन मकवानपुरका अध्यक्ष एवं अधिवक्ता अरुण कुमार खसतवडाको अध्यक्षतामा भएको कार्यक्रममा कथाकार, लेखक एवं अग्रज पत्रकार नवराज शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
श्याम प्रसाद शर्मा प्रतिष्ठानका कार्यवाहक अध्यक्ष इन्द्र नेपाल, सर्जक सन्जाल मकवानपुरका संयोजक एवं लेखक निमेष निखिलको विशेष आतिथ्यता रहेको कार्यक्रममा हास्य व्यंग्यकार एवं बुढ्यौली साहित्य समाजका अध्यक्ष आर सि रिजाल, ज्योति मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेल लगायतको आतिथ्यता रहेको थियो ।