हेटौंडा उपमहानगरपालिकाद्वारा पाँच क्षेत्रका ३३ श्रमिक महिलालाई सम्मान
हेटौंडा उपमहानगरपालिकाले श्रमजीवि महिला सम्मान, खुला हाजिरिजवाफ प्रतियोगिता तथा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । १ सय १४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिकाले ५ वटा क्षेत्रका ३३ श्रमिक महिलालाई सम्मान गरेको हो ।
संघर्षरत् जिविकोपार्जनमा संलग्न रहेको भन्दै उपमहानगरले १९ वटा वडाका एक–एक जना महिलालाई सम्मान गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा व्यवसायमा संलग्न भई प्रेरणादयी भूमिका निर्वाह गरेको भन्दै स्थापित उद्यमीहरु पार्वती राई, पुतलीमाया गोले, कमला थिन र रिमनी लामालाई सम्मान गरेको छ ।
त्यस्तै, निर्माण तथा उद्योगमा आधारित जोखिमपूर्ण क्षेत्रमा आवद्ध ६ जना महिलालाई सम्मानित गरिएको छ । सम्मानित हुनेमा सावित्री राई, सुनिता कार्की, पूजा कुमाल, सुष्मा श्रेष्ठ, शुशिला भ्लोन र अनिता लामिछाने रहेका छन् । संघर्षशिल तथा व्यवसायी एकल महिला विष्णुमाया थपलीया, परम्परागत लैंगिक भूमिकालाई चूनौती दिने श्रम तथा व्यवसायमा आवद्ध ३ जनालाई सम्मान गरिएको छ ।
यस्तै उपमहानगरपालिकाको कार्यालयमा आयोजना गरिएको पाठेघर, स्तन क्यान्सर तथा प्रजनन्, फिस्टुला सम्बन्धी निशुल्क परिक्षण तथा शिविरमा १ सय ५० जनाले स्वास्थ्य जाँच गराएका छन् । शिविरमा ३ जनामा पाठेघरको मुखको क्यान्सर सम्बन्धी लक्षण देखिएको उपमहानगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेब केशव तिमल्सिनाले बताउनुभयो । १ सय १६ जनाको भिआईए टेष्ट गर्दा ३ जनामा क्यान्सर आशंका गरिएको हो । आङ खस्ने समस्या भएको १ जनालाई रिङ्गकेशरी राखिएको उहाँले बताउनुभयो ।
शिविरमा ३० जनाले स्तन जाँच गराएका थिए । २ जनामा लम्ब र एक जनामा फिस्टुला देखिएको सिनियर अहेब तिमल्सिनाले जानकारी दिनुभयो । शिविरमा १ सय ७ जनालाई निशुल्क औषधि समेत वितरण गरिएको थियो । दिवसकै अवसरमा शुक्रबार आयोजित हाजिरी जवाफमा २० जना पुरस्कृृत भएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख राजेश बाँनिया, विभिन्न वडाका वडा अध्यक्षहरु, विभिन्न् संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिती थियो ।