हेटौंडा जेसीजले अन्तर क्याम्पस टी–२० क्रिकेट प्रतियोगिता गर्दै

छहारी संवाददाता
फाल्गुन २४, २०८०

विकेशलाल श्रेष्ठ नेतृत्वको हेटौंडा जेसीजले अन्तर क्याम्पस अष्टकुमारी टी–२० क्रिकेट प्रतियोगिता गर्ने भएको छ ।

बिहिबार हेटौंडामा पत्रकार सम्मेलन गरी हेटौंडा जेसीजले यहि फागुन २६ गतेदेखि प्रतियोगिता गर्न लागिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा हेटौंडा जेसीज वर्ष २०२४ का अध्यक्ष श्रेष्ठले हेटौंडा जेसीज वर्ष १९९२ का अध्यक्ष पूर्ण शाक्यकी स्वर्गीय आमा अष्टकुमारीको स्मृतिमा प्रतियोगिता गर्न लागिएको जानकारी दिनुभयो ।

प्रतियोगितामा चितवन, बारा, पर्सा र मकवानपुरका गरी ६ ओटा क्याम्पसहरुको सहभागिता रहने उहाँले बताउनुभयो । प्रतियोगितामा चितवनको एरोभा कलेज, बाराको सिमरा क्याम्पस, पर्साको नेशनल इन्फोेटेक, मकवानपुरको हेटौंडा स्कुल अफ म्यानेजमेन्ट, हेटौंडा सिटी कलेज र नारायणी कलेजको सहभागिता रहनेछ ।

फागुन २६ गते हेटौंडा ४ हुप्रचौरमा हुने उद्घाटन खेलमा हेटौंडा स्कुल अफ म्यानेजमेन्ट र हेटौंडा सिटी कलेजबीच प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफि र मेडल प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार नगदसहित ट्रफि र मेडल प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिता संचालन गर्न ४ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*