मकवानपुरमा फागुन २८ देखि मतदाता नामावली अद्यावधिक गरिने

छहारी संवाददाता
फाल्गुन २२, २०८०

मकवानपुर जिल्लामा यहि फागुन २८ गतेदेखि मतदाता नामावली अद्यावधिक गरिँदैछ ।

मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आयोजित कार्यक्रममा यहि फागुन २८ देखि चैत्र २२ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिने जानकारी दिइएको हो । वैशाख १५ गते हुने उपनिर्वाचनलाई मध्यनजर गर्दै निजर्वाचन आयोगले देशैभर मतदाता नामावली अद्यावधिक कार्य गर्न लागेको हो ।

जिल्लाका सबै वडाबाट नै मतदाता नामावलीमा दाबी विरोधसहित अद्यावधिक गर्न सकिने प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशका कार्यालय प्रमुख तारा प्रसाद आचार्यले जानकारी दिनुभयो । मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने र कसैले झुटा विवरण दिएर नाम दर्ता गरेको भए सोको विरोधमा उजुरी दिने, एक भन्दा बढी स्थानमा नाम समावेश भए एक स्थानमा मात्रै कायम गर्ने, मृत्यु भएका वा नेपाली नागरिकता त्याग गरेकाको नाम मतदाता नामावलीबाट हटाउनका लागि सूचना दिने लगायतका कार्य अद्यावधिक कार्यक्रममा हुने प्रमुख आचार्यले बताउनुभयो ।

कार्यक्रममा मतदाता नामावली अद्यावधिक लगायत समसामयिक विषयमा छलफल गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँले मानव स्वास्थ्यमा गम्भीर असर पु¥याउने रङ्गिन कटन क्यान्डी बिक्री–वितरणमा प्रतिबन्ध लगाउने विषयमा सरोकारवाला निकायसँग छलफल गरि छिट्टै निर्णय दिने जानकारी दिनुभयो ।

यस्तै कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सीताराम रिजालले पछिल्लो समय मकवानपुरमा आर्थिक अनियमितताको मुद्दा बढी आउने गरेको बताउनुभयो । पहिले पहिले लागूलौषधको मुद्दा धेरै आउने गरेको भएपनि पछिल्लो समय चेक बाउन्स र बैकिंक कसुरमा धेरै मुद्दाहरु दर्ता हुने गरेको उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी सेढाईँको अध्यक्षतामा भएको कार्यक्रममा सुरक्षा निकायका प्रमुख, विभिन्न राजनितिक दलका प्रमुख एवम् प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*