बागमती प्रदेशमा बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समिति गठन

छहारी संवाददाता
फाल्गुन १७, २०८०

बागमती प्रदेश सभामा संसदीय विशेष समिति गठन गरिएको छ ।

बिहीबार बसेको प्रदेश सभा बैठकले “बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समिति” गठन गरेको हो । समितिको संयोजकमा नेपाली कााग्रेसका सचेतक गोविन्द लक्साल रहनुभएको छ ।

बैठकमा नेकपा माओवादीका मुख्य सचेतक रत्न ढकालले पेश गर्नुभएको समिति गठनको प्रस्ताव सर्वसम्मतले पारित भएको हो । समितिको सदस्यमा इन्द्रप्रसाद गोतामे, उद्धव थापा, गिरबहादुर तामाङ, डा।दिनेशचन्द्र देवकोटा, प्रभात तामाङ, बसन्तप्रसाद मानन्धर, रत्नप्रसाद ढकाल, रमा आले मगर, मधुसुदन पौडेल र शैलेन्द्रमान बज्राचार्य रहेका छन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेल र आर्थिक मामिला तथा योजनामन्त्रीले चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रमका सम्बन्धमा सभा समक्ष गर्नुभएको प्रतिबद्धतालाई संविधान ऐन, कानून अनुसार कार्यान्वयनका लागि विशेष समिति गठन प्रस्ताव गरिएको मुख्य सचेतक ढकालले बताउनुभयो ।

विशेष समितिमा नेपाल मजदुर किसान पार्टीबाहेक प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलले सहभागिता जनाएका छन् । समितिलाई फागुन २९ गते बस्ने प्रदेश सभा बैठकमा प्रतिवेदन बुझाउन समयसीमा प्रदान गरिएको छ ।

बिहीबारको बैठकमा उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले पेश गर्नुभएको प्रदेश हस्तकलाग्रामको स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सामान्य सैद्धान्तिक छलफल समेत भएको छ । प्रदेश सभाको अर्को बैठक फागुन २९ गते दिनको ३ बजे बस्ने गरि स्थगित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*