बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छानिएका खेलाडीको बन्द प्रशिक्षण सुरु

छहारी संवाददाता
फाल्गुन १४, २०८०

यहि फागुन २१ गतेदेखि चितवनमा हुने बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा छनोट भएका खेलाडीहरुको बन्द प्रशिक्षण सुरु भएको छ ।

बन्द प्रशिक्षण आइतबार नै सुरु भएपनि सोमबार औपचारिक कार्यक्रमकाबीच हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले उद्घाटन गर्नु भएको हो । खेलाडीहरुलाई मेयर लामाले बागमती प्रदेशमै उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय लागूऔषध दुव्र्यसनले युवाहरु ग्रसित भएको उल्लेख गर्दै उनले खेलाडीहरुलाई लागूऔषधबाट टाढा रहन सुझाव समेत दिनुभयो ।

मकवानपुरमा भएको १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छनौट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको हो । गत वर्षबाट सुरू भएको बन्द प्रशिक्षण यसवर्ष पनि निरन्तरता दिइएको हो । बन्द प्रशिक्षणमा ९८ जना खेलाडी सहभागी छन् ।

जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्गीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा स्कूल अफ म्यानेजमण्टका प्रमुख पुरणबहादुर जोशीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा एथ्लेटिक्स संघका अध्यक्ष प्रभाकर पाण्डे, मकवानपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष लालकाजी रत्न बज्राचार्य, सितोरियो कराते संघका अध्यक्ष दीपक लामा लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

राष्ट्रपति रनिङ शिल्डको प्रदेश प्रतियोगितामा सहभागिताका लागि हेटौंडा उपमहानगरपालिकाले ६ लाख रुपैयाँ विनियोजन गरेको मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्कीले जानकारी दिनुभयो । बन्द प्रशिक्षण पश्चात् ९८ खेलाडी, १५ अफिसियल र २ जना नेतृत्वसहित ११५ जनाको टोली चितवन प्रस्थान गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*