छैठौं बागमती गोल्डकपः चर्च ब्वाइजलाई हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश
छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबारको खेल जित्दै विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
मकवानपुरको बागमती गाउँपालिका–८ फापरवारी स्थित जनता माविको खेल मैदानमा भएको दोस्रो क्वाटरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३–१ गोलले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।
एपीएफको जीतमा अनिष महर्जनले दुई तथा फोडे फोफनाले एक गोल गरे । खेलको दोस्रो हाफको १६ औं मिनेटमा फोफनाले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै महर्जनले खेलको दोस्रो हाफको १६ औं मिनेटमा फोफनाको पासलाई सदुपयोग गर्दै हेडमार्फत गोल गरे भने २४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।
खेलको दोस्रो हाफको ८८ औं मिनेटमा चर्च ब्वाइजका लागि विशाल बस्नेतले एक गोल गरे पनि टिमलाई हारबाट जोगाउन भने सकेन । खेलको म्यान अफ द म्याच महर्जन घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
एपीएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । एपीएफले अब फाइनल प्रवेशका लागि आयोजक बागमती खेलकुद विकास समिती र विभागीय टोली त्रिभुवन आर्मीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । बागमती गोल्डकप अन्तरगत शनिबारको क्वाटरफाइनल खेलमा जावला खेल युथ क्बल र मछिन्द्र युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।