बागमती गोल्डकपः हिमालयन शेर्पालाई हराउँदै आयोजक बागमती विजयी
छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको बुधबारको खेलमा आयोजक बागमती खेलकुद विकास समिती विजयी भएको छ ।
ए डिभिजन क्लब हिमालयन शेर्पालाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै बागमती विजयी भएको हो । खेलको निर्धारित समयमा १–१ गोलको बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलको निर्धारित समयमा बागमतीका लागि एलिश चौलागाईले दोस्रो हाफको २ औं मिनेटमा र हिमालयन शेर्पाका सन्दीप श्रेष्ठले खेलको ९० औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए ।
टाइब्रेकरमा बागमतीका लागि एलिश महर्जन, प्रितम स्याङ्बो, सामेल सुनार, रोशन दोङ र अमर पाख्रिनले गोल गरे । यस्तै हिमालयनका लागि दिवस उरौ, सत्यम शर्मा, धिरज थपलिया र विदेशी खेलाडी आब्मे फाकुलाइनले गोल गरे । हिमालयनका सन्दीप श्रेष्ठको प्रहार बागमतीका गोलरक्षक पवन आले मगरले उत्कृष्ट बचाउ गरे ।
खेलको म्यान अफ द म्याच बागमतीका लागि एलिश चौलागाई घोषित भए । उनले १० हजार रुपैयाँ नगद प्राप्त गरेका छन । जितसंगै बागमतीले क्वाटरफाइनमा स्थान पक्का गरेको छ । क्वाटरफाइनलमा बागमती फाल्गुन ६ गते विभागीय क्लब त्रिभुवन आर्मीसंग प्रतिस्पर्धा गर्नेछ ।
बागमती–८ मा रहेको जनता माविको खेल मैदानमा जारी प्रतियोगिता अन्तर्गत बिहिबार सिमराको नव जनजागृती युवा क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्धर्पा हुनेछ । विजयी टिमले सेमिफाइनलमा स्थान बनाउनेछ ।
नकआउट चरणमा जारी प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । यस संस्करणको विजेताले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीले २५(२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।