एपिएफ क्लब, मकवानपुर गोल्डकप फुटबलको उपाधी जित्न सफल
सशस्त्र प्रहरीको एपिएफ क्लबले मकवानपुर गोल्डकप फुटबलको उपाधी जितेको छ ।
हेटौंडा–६ स्थित गौरीटार रंगशालामा शनिबार भएको छैटौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबलको फाइनलमा न्युरोड टिम एनआरटीलाई सडन डेथमा पराजित गर्दै एपिएफले उपाधी जितेको हो ।
खेलको निर्धारित समयमा दुबै टीमबाट कुनै गोल नभएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो तर त्यसमा दुबै टीमले ३–३ गोलको बराबरी खेलेका थिए । अन्त्यमा सडनडेथमा एपिएफले खेलमा बाजी मार्यो । सडन डेथको दोस्रो पेनाल्टीमा विदेशी खेलाडी फोडे फोफनाले निर्णायक गोल गरेसंगै एपिएफले उपाधी उचालेको हो ।
पेनाल्टी सुटआउटमा एपिएफका एनिसेट, कुलदीप कार्की र सुमन श्रेष्ठले गोल गरेका थिए भने दिपेश धिमाल र बुद्धिमान राई गोल गर्न चुके । एनआरटीका लागि पेनाल्टीमा जय गुरुङ, प्रिसो, विवेक गुरुङले गोल गर्दा सन्तोष तामाङ र अभिषेक गुरुङले गोल गर्न सकेनन् ।
सडनडेथमा एपीएफका मणि लामा र फोफनाले गोल गरेका थिए । एनआरटीका मोहित गुरुङले गोल गर्दा रनदीप पौडेलको प्रहार एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठले रोकेका थिए ।
प्रतियोगिताको विजेता बन्दै एपिएफले नगद १५ लाख रुपैयाँ पुरस्कारसहित ट्रफी हात पारेको छ । उपविजेता एनआरटीले नगद १० लाख रुपैयाँमा चित्त बुझाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी एपिएफका जर्सी नम्बर ११ का अनिश महर्जन भएका छन् । उनले बुलेट बाइक प्राप्त गरेका छन् । यस्तै उत्कृष्ट डिफेन्डरको उपाधी एपिएफका जर्सी नम्बर ५ का खेलाडी कुलदीप कार्की भएका छन् । उनले नगद २५ हजार प्राप्त गरेका छन् ।