पत्रकार विष्टद्वारा हेटौंडाको त्रिवेणीधाममा गौतम बुद्धको अष्टधातुको मूर्ति स्थापना
हेटौंडाका बरिष्ठ पत्रकार प्रताप विष्टले हेटौंडा–९ स्थित कुष्माण्ड सरोवर त्रिवेणीधाममा गौतम बुद्धको अष्टधातुको मूर्ति स्थापना गर्नु भएको छ ।
छोरा डाक्टर घोषणा विष्ट र बुहारी सुजता कार्कीको विवाहपछी पार्टीमा हुने खर्च कटाएर धाममा बुद्धको मुर्ति स्थापना गर्नु भएको हो । त्रिवेणी धाममा ५ फिट अग्लो, २ सय ६० केजी तामा र पित्तल मिसिएको मूर्तिको बिहिबार प्राण प्रतिष्ठा गरिएको हो । करिब १२ लाख रुपैयाँ खर्चमा निर्माण गरिएको मूर्तिको एक कार्यक्रमका बीच हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा तथा उपप्रमुख राजेश बानियाँ अनावरण गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथी हेटौडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाई, सामाजसेवी तथा बुद्धिजीवी देव बहादुर श्रेष्ठले लगायतले फजुल खर्च गरी विवाह गर्ने परम्परा बढिरहेको समयमा यस जोडीले उदाहरणीय काम गरेको बताउनुभएको थियो । यस्ता कार्यले जनप्रतिनीधीहरुलाई थप जिम्मेवार बन्न प्रेरणा दिने उहाँहरुको भनाई थियो । कार्यक्रममा जिल्ला स्थिती विभिन्न कार्यालयका प्रमुखहरु, संघसंस्थाका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।
बुधबार विवाह सम्पन्न गरेका घोषणा विष्ट, पत्रकार प्रताप विष्टका कान्छा छोरा हुनुहुन्छ । विष्टले यसअघि २०७४ सालमा आफ्नो ज्येष्ठ छोराको विवाह खर्च कटाएर मानव सेवा आश्रमलाई ५ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा नेपाल पत्रकार महासंघ मकवानपुर शाखामा एकलाख रुपैयाँ पुस्तकालय स्थापनाका लागि प्रदान गर्नुभएको थियो ।