घेदुङ मकवानपुरगढीको कार्यसमिति सदस्य पुनर्गठन
नेपाल तामाङ घेदुङ मकवानपुरगढी गाउँपालिकाको कार्यसमिति सदस्य पुनर्गठन गरिएको छ ।
बुधबार गाउँस्तरीय भेलाले सानुकान्छा थिङको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति पुनर्गठन गरिएको हो । सानुकान्छालाई भेलाले अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ ।
यस्तै उपाध्यक्षमा विक्रम योन्जन, मनमाया लो, सचीवमा यमरत्न भ्लोन, सहसचिवमा सोमलाल घलान, कोषाध्यक्षमा एलआर स्याङ्तानलाई चयन गरिएको छ । सदस्यहरुमा अन्जना तामाङ, सुरेश गोले, विकास थिङ र सूर्य रुम्बालाई चयन गरिएको छ । नेपाल तामाङ घेदुङ मकवानपुरका सदस्य आकाश गोलेको अध्यक्षता तथा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समितिका अध्यक्ष कालु घलानको प्रमुख आतिथ्यतामा भेला भएको हो । भेलामा मन्तव्य राख्दै घलानले पालिकास्तरीय र वडास्तरीय कार्यसमिति पुनर्गठन तथा गठनको विस्तार घेदुङले थालिएको जानकारी दिए ।
यसअघि बकैया र राक्सिराङ गाउँपालिकामा पालिकास्तरीय समिति गठन गरिसकेको छ । जसमा वडास्तरीय कार्यसमिति गठन गरिसकेको र अब मकवानपुरगढीमा वडास्तरीय कार्यसमिति गठनलाई विस्तार गर्ने बताए । जसले तामाङ समुदायको भाषा, संस्कृति जगेर्नासँगै नेतृत्व विकासमा सहयोग पुग्ने घलानको विश्वास छ ।
यसैगरी मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दावादोर्जे लामा स्याङ्तानले ६७ दशमलव ६९ प्रतिशत तामाङ समुदाय रहेको पालिकामा समेत उक्त समुदायको भाषा र संस्कृति लोप हुँदै गइरहेको बताए । जसको संरक्षणमा घेदुङ लाग्नुपर्ने उनको भनाइ छ । मकवानपुरगढी-७ मा बोम्बोको संस्कृति देखिने गरी संग्रलय निर्माण गरिने समेत प्रतिबद्धता व्यक्त गरे ।
यस्तै गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पख्रीन नेपालीले तामाङ समुदायको भाषा, संस्कृति संरक्षणका लागि पालिकाले बजेट छुट्याइएको जानकारी दिइन् । तामाङ समुदायको हकहितको लागि पालिकाले सहयोग गरिने प्रतिबद्धता व्यक्त गरिन् । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरका सचीव किरण बलले लोप हुँदै गएको तामाङ समुदायको संस्कृति, भाषा र कला संरक्षणमा सबै तामाङ एक हुन जरुरी रहेको बताए ।
यस्तै घेदुङका सल्लाहकार राजकुमार गोलेले स्वागत मन्तव्य राख्दै संसारका तामाङ एक हाैँ तामाङ संस्कृतिलाई जगेर्ना गराैँ भन्ने उद्देश्यले पालिकास्तरीय र वडास्तरीय भेला विस्तारलाई घेदुङले अगाडि बढाएको जानकारी दिए ।