भीमफेदी गापाद्वारा योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन

छहारी संवाददाता
माघ १३, २०८०

मकवानपुरको भीमफेदी गाउँपालिकाले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ ।

शनिबार संघीय संसदका सभामुख देवराज घिमिरेको प्रमुख उपस्थितीमा एक कार्यक्रमको आयोजना गरी पालीकाले श्रमीकका लागि योगदानमा आधारित कोष कार्यान्वयनमा ल्याएको हो । कोषमा पालिका भित्रका ९८ अनौपचारिक क्षेत्रका श्रमिक आबद्ध भएका छन् ।

नागरिकको सामाजिक सुरक्षा सम्बन्धि संवैधानिक हकको संरक्षण गर्न पालिकाले योगदानकमा आधारित सुरक्षा कोष प्रारम्भ गरेको हो । अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुको बचत बानीमा विकास गर्ने, सबै श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गर्न, उनीहरुको आर्थिक तथा सामाजिक जोखिम न्यूनीकरण गर्न योजना कार्यान्वयनमा ल्याइएको पालिका अध्यक्ष हिदम लामाले बताउनुभयो ।

गाउँपालीकाको आर्थिक वर्ष २०८०/८१ वार्षिक स्वीकृत कार्यक्रममा सामाजिक सुरक्षा कोष कार्यान्वयन कार्यक्रम समावेश गरेको थियो । यसका लागि पालिकाले १३ लाख बजेट विनियोजन गरेको छ । अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गराउन नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिक ११ प्रतिशत कोषमा जम्मा हुनेछ भने पालिकाद्धारा ९ दशमलव ३७ प्रतिशत मासिक रुपमा कोषमा जम्मा गर्नेछन् ।

कोषमा आबद्ध भएपश्चात् अनौपचारिक क्षेत्रका श्रमिकहरू स्वास्थ्यबीमा, मातृत्वभत्ता, अशक्तता पेन्सन, आश्रित परिवार सुरक्षा योजना, वृद्धावस्था पेन्सन जस्ता सुविधाहरूका लागि योग्य हुनेछन् । सामाजिक सुरक्षा कोष योजना सञ्चालन गर्न पालिका र सामाजिक सुरक्षा कोषबीच श्रावणमा सम्झौता भएको थियो ।

भीमफेदी सामाजिक सुरक्षा कोष कार्यान्वयनमा ल्याउने दोस्रो गाउँपालिका बनेको छ । यसअघि स्याङजाको फेदीखोला गाउँपालिकाले सामाजिक सुरक्षा कोषसँग सम्झौता गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*