श्रमको मूल्य बुझ्ने र लागू गर्ने परिपाटी नरहेकोमा सभामुख घिमिरे चिन्तीत

छहारी संवाददाता
माघ १३, २०८०

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सामाजिक र व्यवहारिक रुपमा श्रमको महत्व, श्रमको मूल्य बुझ्ने र लागू गर्ने परिपाटी नरहेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

शनिबार मकवानपुरको भीमफेदी गाउँपालिकाले आयोजना गरेको अनौपचारिक क्षेत्रका श्रमिकहरुको सामाजिक सुरक्षा योजनाको सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले श्रमिकहरुको सामाजिक उत्थानका लागि तीनै तहको सरकारले पहलकदमी लिएर श्रमीकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनु पर्ने आवश्यकता औँल्याउनुभयो ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा राज्यका अंगहरु जिम्मेवार भएर अघि बढ्नुुपर्ने भन्दै सभामुख घिमिरेले कमजोर नागरिकहरुलाई आर्थिक सहायता प्रदान गर्न सामाजिक सुरक्षाकोषको योजना ल्याएको बताउनुभयो । श्रमिकहरुको जीवनलाई सहज बनाउन सामाजिक सुुरक्षाकोष फलदायी रहेको उहाँको भनाई छ ।

सभामुख घिमिरेले संघीयतालाई सहि ढंगबाट कार्यान्वयन गर्न तीनै तहका सरकार गम्भिर हुनुुपर्ने बताउँदै तीनै तहका सरकारले उचित योजना बनाएर देश र जनताका लागि काम गर्ने हो भने समाजवाद निर्माणमा बलियो आधार तयार हुने धारणा राख्नुभयो । उहाँका अनुसार कोषमा हालसम्म ५१ अर्ब २९ करोड भन्दा बढी रुपैयाँ संकलन भएको छ ।

कार्यक्रममा नेकपा एमालेका सचेतक महेश बर्तौलाले सामाजिक सुरक्षा कोषमा संघीय र प्रदेश सरकारको हुनु पर्ने बताउनु भयो । सामाजिक सुरक्षा योजनाको स्थायीत्व र निरन्तरताको लागि तीनै तहका सरकारको लगानी र श्रमिकहरुको सह लगानी जरुरी रहेको उहाँको भनाई छ ।

भीमफेदी गाउँपालिकाले चालू आर्थिक वर्षको कार्यक्रममा योगदानमा आधारित श्रमीक कोषका लागि १३ लाख रुपौयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिकाका अध्यक्ष हिदम लामाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*