सबै कम्युनिष्ट दलहरुको एकता जरुरी छ: माओवादी केन्द्रका महासचिव गुरुङ

छहारी संवाददाता
माघ ८, २०८०

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका महासचिव देव गुरुङले सबै कम्युनिष्ट पार्टीहरु एक भए मात्र देशको समृद्धी सुनिश्चित गर्न सकिने बताउनु भएको छ ।

सोमबार अन्तिम पटक युद्ध भएको स्थान मकवानपुरको झुरझुरेमा पुर्व पि.एल.ए मकवानपुरको आयोजनामा भएको कार्यक्रममा सम्बोधन गर्दै उहाँले अब छिटो नै माओवादीबाट टुक्रिएका दलहरुको एकता हुने बताउनुभयो । नेता गुरुङले अब सबै कम्युनिष्ट दलहरु एकै झण्डामा उभिनुपर्ने अवस्था रहेको समेत बताउनुभयो ।

युद्धको बेला देखेका परिवर्तनका सपना पुरा गर्न अझै बाँकी रहेको भन्दै उहाँले शान्ती सम्झौता पछीको १८ बर्षको अवधीमा वयवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन गर्न नसकेको जिकिर गर्नुभयो । उहाँले शान्ति सम्झौता टुंगोमा नपुगेको कारण समय समयमा समस्या आइरहेको बताउनुभयो ।

झुरझुरेमा भएको अन्तिम युद्धको स्मरण गर्दै उहाँले यस स्थललाई युद्ध पार्क बनाएकोमा बागमती गाउँपालिकालाई धन्यवाद दिनुभयो । साथै पार्कको व्यवस्थापनमा ध्यान दिएर संग्रहालय बनाउन समेत सुझाव दिनुभयो ।

कार्यक्रममा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले रगतसंग साटेर ल्याएको वयवस्था जनताको लागि भएको भन्दै जनताको अवस्था बदल्न सरकार प्रयासरत रहेको बताउनुभयो । उहाँले युवा, महिला, घाईते लगाएतको लागि बागमती प्रदेश सरकारले कार्यक्रम संचालन गरिरहेको जानकारी दिनुभयो ।

यस्तै बागमती प्रदेश सांसद प्रेमबहादुर पुलामीले शहिदको रगतले लेखिएको ईतिहास जोगाउन र जनताको लागि ल्याइएको परिवर्तनको महशुस गराउन अझै कामहरु बाँकी रहेको बताउनुभयो । उहाँले तलबाट मात्र गरेको प्रयास पर्याप्त नभएको बताउनुभयो ।

कार्यक्रममा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले परिवर्तनको लागि गरिएको बलिदानीको ईतिहास कायम राख्न काम गरिरहेको बताउनुभयो । उहाँले झुरझुरेको युद्ध क्षेत्रलाई पार्कको रुपमा विकास गरिने समेत बताउनुभयो ।

कार्यक्रममा पुर्व लडाकुहरुको उपस्थिती रहेको थियो भने युुद्ध भैरहेको समयमा जन्मिएका युद्धबिर बैजुको जन्मदिन समेत मनाइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*