हेटौंडा जेसीजको नेतृत्व सम्हाल्न सक्षम छुः श्रेष्ठ

छहारी संवाददाता
पुस १०, २०८०

युवा समाजसेवी विकेशलाल श्रेष्ठले हेटौंडा जेसीज वर्ष २०२४ को नेतृत्व सम्हाल्न आफु सक्षम रहेको बताउनु भएको छ ।

हेटौंडा जेसीज वर्ष २०२४ को अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्दै उहाँले यसपटक आफुलाई विश्वास गरी नेतृत्वमा ल्याउन सहयोग गरिदिन सम्पूर्णलाई आग्रह गर्नु भएको छ । जेसीजको संस्थागत विकाससंगै युवा पुस्ताको नेतृत्व एवं व्यक्तित्व विकासका लागि काम गर्न आफु सक्षम रहेको उहाँको भनाई छ ।

जेसीजमा एक व्यक्ति, एक पद र एक कार्यकालको अवधारणा भएकाले सबै साथीहरुलाई क्रमश समेटेर लैजान सकिने भन्दै उहाँले यसपटक जेसीज मार्फत् समूदायस्तरमा काम गर्ने आफ्नो चाहाना पूरा गरिदिन समेत आग्रह गर्नुभयो । हेटौंडा जेसीज वर्ष २०२३ मा कार्यकारिणी उपाध्यक्षको जिम्मेवारीमा रहनु भएका श्रेष्ठले अग्रजहरुको मिहेनतबाट प्राप्त उपलब्धीलाई जोगाउँदै संस्थागत विकासको क्षेत्रमा मात्रै नभई जेसीजको प्रभाव समुदाय स्तरसम्म पुर्याउन आफुले उम्मेद्वारी घोषणा गरेको बताउनुभयो ।

श्रेष्ठले “जेसीजसंग समूदाय” कार्यक्रम अन्तरगत अझै परिस्कृत एवं प्रभावकारी ढंगबाट जनहितको क्षेत्रमा संस्थाको गतिविधि क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । युवा पुस्ताको क्षमता विकास, सामुदायिक विकास, व्यावसायिक विकास र अन्तर्राष्ट्रिय क्षेत्रमा भएका राम्रा अभ्यासहरुलाई स्थानीयस्तरमा कार्यान्वयनमा ल्याउन पहल गर्ने समेत उहाँले बताउनुभयो ।

अझै पनि जेसीजबारे धेरैलाई थाहा नभएको भन्दै श्रेष्ठले कुराले होइन काम मार्फत समाजमा प्रभाव छाड्दै जाने बताउनुभयो । जेसीजले विभिन्न समयमा उद्घोषणकला, भाषणकला, पार्लिमेन्ट्री मिटिङ प्रोसिडियर सम्बन्धि र समय व्यवस्थापन सम्बन्धि तालिमहरु गरिरहेको छ । साथै विकट गाउँहरुमा पुगेर स्वास्थ्य शिविर चलाउने, बेसाहाराको साहारा बन्ने प्रयास गरिरहेको छ ।

विकेशलाल श्रेष्ठको बारेमा ।
विकेशलाल श्रेष्ठको जन्म वि. सं.२०४४ सालमा हेटौंडा उपमहानगपालिका– १ चौकिटोलमा भएको हो ।

राजनीति शास्त्रमा स्नातकोत्तर गर्नु भएका श्रेष्ठ विगत ६ वर्षदेखि जेसीज अभियानमा हुनुहुन्छ । सन् २०१८ मा हेटौंडा जेसीजको सदस्यता लिनु भएका उहाँले सन् २०१९ मा खेलकुद संयोजक, २०२० मा उपाध्यक्ष र २०२१ मा शाखा सम्पादकको जिम्मेवारी पाउनुभयो । सन् २०२२ मा महासचिवको जिम्मेवारी सम्हाल्नु भएका श्रेष्ठ अहिले जेसीज वर्ष २०२३ को कार्यकारिणी उपाध्यक्ष हुनुहन्छ ।

लियो लायन्सलगायत विभिन्न संघसंस्थामा रहेर कुशल नेतृत्व प्रदान गर्नु भएका श्रेष्ठ मकवानपुर उद्योग वाणिज्य संघको कार्यसमितिमा समेत हुनुहुन्छ । उहाँ अग्रगति बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष र मकवानपुर उसु संघको कोषाध्यक्ष समेत हुनुहुन्छ । नेवा गुठि खलको हेटौंडा उपमहानगर अध्यक्ष तथा जिल्ला फूटबल संघको सदस्यलगायत विभिन्न संघसंस्थामा आवद्ध भएर क्षमता निखारिरहनु भएका श्रेष्ठ समाजसेवीको रुपमा समेत परिचित हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*