खेलकुद विकास समिति मकवानपुरले गर्न लागेको महोत्सवमा मउवा संघको आपत्ती

खेलकुद तथा व्यापार महोत्सवको तयारी भने तीव्र
छहारी संवाददाता
मंसिर २७, २०८०

जिल्ला खेलकुद विकास समिति मकवानपुरले खेलकुद महोत्सवको नाममा व्यापार मेला गर्न लागकेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले आपत्ती जनाएको छ ।

बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै मकवानपुर उद्योग वाणिज्य संघले स्थानिय व्यवसायीहरुलाई असर गर्ने गरी व्यापार मेला गर्न लागेको भन्दै रोक्न चेतावनी दिएको छ । संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले आर्थिक रुपमा थलिएका हेटौंडाका व्यवसायीलाई प्रत्यक्ष असर पर्नेगरी मेला हुन लागेको भन्दै मेला नरोकिए चरणबद्ध आन्दोलन गर्न बाध्य हुने बताउनुभयो ।

असम्बन्धित संगसंस्थाहरुले व्यापार मेला नगर्न नगराउन उहाँले आग्रह गर्नु भएको छ । घुमाउरो बाटो प्रयोग गरी खेलकुद विकास समितीले अन्य व्यापारिक संस्थासंग मिलेर मेला गर्न लागेको उहाँले आरोप लगाउनुभयो । उहाँले सरोकारवाला संघसंस्थाहरुलाई मेला रोक्न आह्वान समेत गरेको बताउनु भयो ।

यता जिल्ला खेलकुद विकास समिती मकवानपुरले भने खेलकुद तथा व्यापार महोत्सवको तयारी तीव्र पारेको छ । समितीका अध्यक्ष भेषराज खड्गीले खेलाडीहरुको हितका लागि महोत्सव गर्न लागिएकोले मेला नरोकिने बताउनुभयो । उहाँले खेल क्षेत्रमा देखिएको आर्थिक समस्याको समाधान गर्ने उद्देश्यले खेलकुद तथा व्यापार महोत्सवको आयोजना गर्न लागिएको बताउनुभयो ।

जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौंको संयुक्त आयोजनामा पुस ५ गतेदेखि हेटौंडा १० टिसिएन चौरमा हुन लागेको मेलाका लागि चौर सफा गर्ने, स्टल बुकिङ लगायतका कार्य भैरहेको छ । महोत्सवमा १३ वटा विधामा राष्ट्रिय, प्रदेश र जिल्लास्तरीय खेलकुद प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*