भ्रष्टाचार ,संस्कारका रुपमा विकास हुँदै गएको बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलको टिप्पणी

छहारी संवाददाता
मंसिर २३, २०८०

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भ्रष्टाचार संस्कारका रुपमा विकास हुँदै गएको बताउनु भएको छ ।

शनिबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बागमती प्रदेश हेटौंडा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाको संयुक्त आयोजनामा भएको भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राणाशासन, राजाहरुको शासनबाट अहिलेसम्म आइपुग्दा अझ त्यही परम्परा विकसित हुँदै गएको बताउनुभयो ।

राजनीतिक नेतृत्व नै भ्रष्टाचार बढ्नुको मुख्य दोषी रहेको भन्दै उहाँले भ्रष्टाचारीलाई राजनीतिक संरक्षण हुने गरेको आरोप लगाउनुभयो । राजनीतिक नेतृत्वले निष्पक्ष, पारदर्शी, स्वार्थरहित ढङ्गले काम गर्न सके भ्रष्टाचार निण्न्त्रण गर्न सकिने उहाँको भनाई छ ।

मुख्यमन्त्री जम्कट्टेलले कानुनको कायान्वयन गर्ने कुरामा कर्मचारीले खुट्टा कामाउने गरेको टिप्पणी गर्नुभयो । असम्भव कामलाई कर्मचारीले हुन्न भन्न नसक्दा भ्रष्टाचार बढेको जिकिर गर्दे उहाँले गर्न नमिल्ने काम कुनै पनि राजनीतिक नेतृत्वको दबाबमा नगर्न उहाँले कर्मचारीलाई निर्देशन दिनुभयो ।

मुख्यमन्त्री जम्कट्टेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग अहिले तर्साउने हतियार भएको टिप्पणी गर्नुभयो । कसैसँग रिस उठे पनि बेनामे मुद्दा हाल्ने प्रवृत्तिले आम जनताले दुःख पाइरहेको उहाँको भनाइ छ ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाका प्रमुख नरहरि घिमिरेले कार्यालयको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायको सभाध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानुमन्त्री गङ्गानारायण श्रेष्ठ, प्रदेशका सचिव, कर्मचारी, नेपाली सेना लगायतको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*