भारतीय शीर्ष खेलाडी सुभयानले जिते हेटौंडा कप एसियाली खुला रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि
बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बुद्धिचाल खेल प्रवर्द्धन गर्नु पर्ने बताउनु भएको छ ।
हेटौंडा कप एसियाली खुला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८० को समापन तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एशियाली स्तरको बुद्धिचाल खेल प्रवर्द्धन गर्न जरुरी रहेको बताउनभयो । उहाँले बुद्धिचाल खेल प्रवर्द्धनका लागि बाग्मती प्रदेश सरकार र प्रदेश खेलकुद विकास परिषद्ले हातेमालो गर्न तत्पर रहेको बताउनुभयो ।
हेटौंडा कप एसियाली खुला रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि भारतीय शीर्ष खेलाडी सुभयान कुण्डुले जित्नु भएको छ । भारतका २ हजार ३ सय ९३ रेटेड शीर्ष खेलाडी सुभयानले ९ चरणको प्रतिस्पर्धामा ६ जित र ३ बराबर परिणाम निकाल्दै अपराजित ७.५ अंक बनाएर उपाधि जित्नु भएको हो । सुभयानल नगद एकलाख पचिस हजार पुरस्कार राशी हात पार्न सफल हुनु भएको छ । कुण्डुले अन्तिम खेल बराबर गर्दा उपाधि आफ्नो नाममा रहने भएपनि बंगलादेशका एफएम सरिफ होसेन माथि जित हात पार्दै एकल बिजेता बनेका छन् ।
नेपाल खेलकुद महासंघ र जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा बंगलादेशका आईएम मोहमद मिनहाज उद्दिनले दोश्रो स्थान हासिल गर्नु भएको छ भने भारतका एफ एम अरबिन्दर प्रित सिंहले तेश्रो स्थान हासिल गर्नु भएको छ । उहाँहरुले ७/७ अंक जोड्दै क्रमशः दोश्रो र तेस्रो स्थान हासिल गर्नु भएको हो । दोस्रो हुनेले नगद पचहत्तर हजार र तेश्रो हुनेले नगद चालीस हजार पुरस्कार राशी जित्न सफल हुनु भएको छ ।
नेपाल बुद्धिचाल महासंघको तत्वावधानमा ६ दिन सम्म सञ्चालन भएको प्रतियोगितामा बंगलादेशका सरिफ होसेन, भारतका अमरदीप बर्तके, बंगलादेशका आई एम अबु सुफिन सकिल, एफ एम नारिक शेख, भारतका राहुल गुरुङ, ए एफ एम सौरभ चौबे र भारतका महिला खेलाडी मारियम फातिमाले ६.५ अंक प्राप्त गर्दै क्रमशः चौथौं देखि दशौं स्थानमा समेटिन सफल हुनु भयो ।
हेटौंडा चेस क्लबको व्यवस्थापन रहेको चेस प्रतियोगितामा एफएम नयम हक एघारौं, नेपालका ए आई एम शुश्रुत दहाल बाह्रौं, डेवोस्निक तेह्रौं, आशिष् राज चौधौं र भारतका आदित्य बर्टके पन्ध्रौं स्थानमा रहन सफल हुनुभयो ।
कार्यक्रममा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हिराकाजि महर्जन, नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेत, पाब्सनका, बागमती, अध्यक्ष केशव लाल श्रेष्ठले सम्पूर्ण विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो । समापन कार्यक्रममा प्रतियोगिताका डिरेक्टर तथा नेपाल खेलकुद महासंघ र नेपाल बुद्धिचाल महासंघको महासचिव धरम बहादुर लामाले आगामी साल जिम नर्म प्रतियोगिता गर्ने घोषणा गर्नुभयो ।