हेटौंडाको पाउडर दुध तथा बटर उद्योगमा उत्पादन परीक्षण

छहारी संवाददाता
मंसिर १४, २०८०

बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका– १०, सिसौघारीमा निर्माण भएको पाउडर दुध तथा बटर उद्योगमा उत्पादन परीक्षण गरिएको छ ।

उद्योगले पहिलो चरणमा ४ हजार ५ सय लिटर दुधको परीक्षण गरिएको निर्माण कम्पनी इजी इन्फा प्रा.लि.का म्यानेजर उत्तम पौडेलले जानकारी दिनुभयो । पानी, हावा र ग्यास मार्फत् उपकरण तथा मेसिनरी औजार परीक्षण गरी दुधको परीक्षण गरिएको म्यानेजर पौडेलले बताउनुभयो ।

अब उद्योगलाई पूर्ण क्षमतामा चलाउन प्रदेश दुग्ध विकास बोर्डलाई कुनै समस्या नरहेको उहाँले दाबी गर्नुभयो । निर्माण कम्पनीले आफ्नो जिम्मेवारी पुरा गरेको र प्रदेश सरकारले आफ्नो कार्ययोजना अनुरुप प्लान्टलाई सञ्चालन गर्नेमा म्यानेजर पौडेलले विश्वास व्यक्त गर्नुभयो ।

यस्तै बागमती प्रदेश दुग्ध विकास बोर्डको बोर्डका उपाध्यक्ष टिका बल्लभ सापकोटाले प्लान्टबाट दैनिक ५० देखि ५५ हजार लिटर दुध मार्फत् ५ मेट्रिक टन पाउडर दुध उत्पादन गर्ने आफुहरुको योजना रहेको बताउनुभयो । अब उद्योगले उत्पादनलाई निरन्तरता दिने पनि उहाँले स्पष्ट पार्नुभयो । प्लान्ट सञ्चालनबाट अन्य प्रदेशका किसानले उत्पादन गरेको दुध पनि खपत गर्न सकिने उपाध्यक्ष सापकोटाले दाबी गर्नुभयो ।

प्रदेश सरकारको ४७ करोड लगानीमा पाउडर प्लान्टको निर्माण गरिएको हो । प्लान्ट सञ्चालनमा आएपछि वाग्मती प्रदेशसहित मधेश प्रदेश र लुम्बिनी प्रदेशका कृषक समेत लाभान्वित हुने बोर्डको अनुमान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*