बागमती प्रदेशका उद्योगमन्त्री चित्रकारको एक सय दिनको कार्यप्रगती सार्वजनिक

छहारी संवाददाता
मंसिर १३, २०८०

बागमती प्रदेशको उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले आफ्नो १ सय दिनको कार्यप्रगती सार्वजनिक गर्नु भएको छ ।

बुधबार मन्त्रालयको भवन उद्घाटन पछि पत्रकार सम्मेलन गरी उहाँले आफ्नो कार्यकाल १०० दिन पुगेको र यस अवधिमा भएका कार्यको प्रगती सार्वजनिक गर्नु भएको हो । चाडपर्व लगायतका कारण करीब ७० दिन मात्र कार्य गरिएको जानकारी दिँदै मन्त्रालयका सचिव गोविन्द रिजालले यस अवधीमा विभिन्न कानूनी र व्यवहारी समस्याहरु सामना गर्नु परेको बताउनुभयो ।

२१ बुँदामा सार्वजनिक भएको कार्य प्रगतीमा चाडपर्वको अवसरमा साल्ट ट्रेडिङसंगको सहकार्यमा चाडपर्व लक्षित सुपथ मुल्यका पसलहरु सञ्चालन, उपभोक्ताको हकहित र अधिकार संरक्षणको लागि बजार अनुगमनको कार्यलाई प्रभावकारी बनाइएको, चाडपर्वको समयमा गरिएको अनुगमनबाट १ हजार ५ सय १३ व्यवसायिक फर्मलाई ६ लाख जरिवाना गरिएको र ४ लाख बराबरको म्याद नाघेको सामग्री नष्ट गरिएको लगायत उल्लेख छ ।

पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव गोविन्द रिजालले प्रदेश औद्योगिक व्यवसाय ऐन र प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐनलाई समयानुकुल संशोधन गर्ने प्रक्रिया सुरु गरिएको समेत जानकारी दिनुभयो ।

यस्तै निर्माण सम्पन्न भई सञ्चालनको चरणमा रहेको कोशेली घरहरु स्थानीय तहलाई हस्तान्तरण गरी व्यवस्थित रुपमा सञ्चालनको प्रक्रिया थालिएको पनि मन्त्रालयले जनाएको छ । हेटौंडा कपडा उद्योग, हेटौंडा सिमेन्ट उद्योग, रिद्धिसिद्धि सिमेन्ट उद्योगहरुको निरीक्षण गरी हालको अवस्था बारे अध्ययन गरिएको सचिव रिजालले उल्लेख गर्नुभयो ।

यसैगरी प्रदेश निजामती सेवा ऐन २०७९ बमोजिम मन्त्रालयले गर्नुपर्ने संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी मन्त्रालय र मातहातका संगठनहरुको संगठनात्मक स्वरुप र दरवन्दी तेरिज मुख्यमन्त्री कार्यालय पेश गरिएको कार्यलाई पनि उपलब्धिमा समावेश गरिएको छ ।

यसअघि भाडाको घरमा रहेको उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको कामकाज आफ्नै भवनमा सुरु भएको छ । बुधबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भवन उद्घाटन गर्नु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*