छठ पर्वले तराई र पहाडलाई जोड्ने पुलको काम गरेको छ: मेयर लामा
हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले छठपर्वले आपसी सद्भाव र धार्मिक सहिष्णुता कायम गरेको बताउनु भएको छ ।
सोमबार हेटौंडा १ स्थित राप्ती खोला तटमा आयोजित छठपर्व समापन समारोहलाई समबोधन गर्दै उहाँले यस पर्वले तराई र पहाडलाई जोड्ने पुलको काम गरेको बताउनुभयो । विविधताले भरिएको हाम्रो देश नेपालमा तराई, पहाड र हिमालमा बस्ने सबै जातजातीले एकअर्काको धर्म, संस्कृति एकताबद्ध भएर मनाउने गरेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो ।
संयुक्त मधेसी सेवा समाज नेपालका सचिव तथा छठ पुजा समारोह सचिवालयका संयोजक नन्दलाल दासले यसवर्षको छठमा अनुमान गरेभन्दा २० हजार बढी भक्तजनको उपस्थिती रहेको बताउनुभयो । आफुहरुले करीब ५० हजार जनाले अवलोकन गर्ने आँकलन गरेको भएपनि यसवर्ष यो संख्या लगभग ७५ हजारको हाराहारीमा पुगेको बताउनुभयो । छटपर्वको व्रत बस्न मधेसी र पहाडी समुदायबाट उल्लेख्य रुपमा सहभागीता रहेको उहाँले बताउनुभयो ।
छठ पूजा सम्पन्न गर्न करीब ८ लाख रुपैयाँ लाग्ने गरेको संयोजक दासले जानकारी दिनुभयो । उहाँले हेटौंडा उपमहनगरबाट प्राप्त भएको आर्थिक सहयोग र घाटबाट संकलन भएको रकमबाट सम्पूर्ण खर्च व्यवस्थापन गरिँदै आएका साथै विभिन्न समय सामाजिक कार्यमा समेत सहयोग गर्दै आएको बताउनुभयो ।
सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएसंगै यसवर्षको छठ पर्व सम्पन्न भएको छ । आइतबार कार्तिक शुक्ल षष्ठी अर्थात, छठ पर्वको मुख्य दिन, सुर्य्देवको पूजा आराधना गरी अघर््य दिएर राति जाग्राम बसेका व्रतालुहरुले आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरेका हुन् ।