एन्फा अध्यक्ष नेम्वाङलाई बर्खास्त गर्ने प्रस्ताव बहुमतले अस्वीकृत
अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज बिक्रम नेम्वाङलाई बर्खास्त गर्ने सम्बन्धी प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । बिहीबार हेटौंडामा भएको विशेष साधारणसभाले नेम्वाङलाई बर्खास्त गर्ने सम्बन्धी प्रस्ताव बहुमतले अस्वीकृत गरेको हो ।
विशेष साधारण सभामा अध्यक्ष नेम्वाङमाथि अविश्वासको प्रस्ताव पेश गर्ने एक मात्र एजेन्डा रहेकोमा प्रस्तावको पक्षमा एक मत पनि परेन । विपक्षमा परेको ५३ मतमा एक मत बदर भएको थियो । जसमा नेम्वाङले ५२ मत अर्थात ९९ दशमलब ९९ प्रतिशत मत प्राप्त गर्नुभयो ।
कुल १ सय ५ प्रतिनिधि रहेको एन्फामा ८७ जनाले मताधिकार प्राप्त गरेका थिए । मताधिकार प्राप्त गरेका ८७ जना मध्ये ५३ जनाले मात्र मतदान प्रक्रियामा भाग लिए । अध्यक्ष नेम्वाङलाई बर्खास्त गर्नुपर्छ भन्ने प्रस्ताव राख्ने ३४ जना असन्तुष्ट पक्षले भने मतदान गरेनन् ।
मत परिणाम सार्वजनिकपछि भएको पत्रकार सम्मेलनमा एन्फका महासचिव किरण राईले ३४ जना असन्तुष्ट पक्षको गुनासो नेतृत्वले सुन्ने बताउनुभयो । उहाँले लोकतन्त्रमा विधि र प्रक्रिया सबैले पालना गनुृ पर्ने समेत बताउनुभयो ।
गत भदौमा असन्तुष्ट पक्षले एन्फा नेतृत्वले काम गर्न नसकेको भन्दै अध्यक्ष र महासचिवको बर्खास्तीको १८ बुँदे प्रस्ताव सहित एन्फामा निवेदन पेश गरेका थिए ।