हेटौंडा बजार क्षेत्रका २ ओटा खाद्यान्न पसललाई ६० हजार जरिवाना
जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा बजार क्षेत्रका २ ओटा खाद्यान्न पसललाई जरिवाना गरेको छ ।
प्रशासनले बुधबार अनुगमनका क्रममा उपभोग्य म्याद गुज्रिएका र बिल विनाका सामान विक्रि गर्ने दुई ओटा पसललाई ६० हजार जरिवाना गरेको छ भने ९४ हजार रुपैयाँ बराबरको सामान जफत गरेको छ ।
प्रशासनले कान्तिराजपथमा रहेको रोहन किराना पसललाई ५० हजार रुपैयाँ र अजरअमर रोडमा रहेको अनिष स्टोरलाई १० हजार रुपैयाँ जरिवाना गरेको उपभोक्ता हित संरक्षण मंचका केन्द्रिय उपाध्यक्ष वासु प्रसाद खतिवडाले जानकारी दिनुभयो ।
म्याद गुज्रिएका र बिल विनाका सामान विक्रि गरेको भेटिएपछि रोहन किराना पसलबाट ९४ हजार मुल्य बराबरको सामान जफत समेत गरेको उहाँले बताउनुभयो ।
चाडपर्व लक्षित अनुगमन तिब्र पारेको प्रशासनले बुधबार पनि हेटौंडा बजार क्षेत्रका ६ ओटा खाद्यान्न पसलहरुमा अनुगमन गरेको थियो ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाई, कर कार्यालयका प्रतिनीधी, उपभोक्ता हित संरक्षण मंचका केन्द्रिय उपाध्यक्ष वासु प्रसाद खतिवडा, जिल्ला प्रहरी कार्यालयका मकवानपुरका प्रतिनिधी, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनीधी, लगायतको उपस्थिती रहेको थियो ।